बुटवल,
होराइजन गाैतमबुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूलाई कक्षा ११ का विद्यार्थीहरूले एक विशेष समारोहका बीच बिदाइ तथा शुभकामना प्रदान गरेका छन्। तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई उज्वल भविष्यको कामना गर्दै बिदाइ गरिएको हो।
कक्षा ११ की छात्रा सुम्निमा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका प्रमुख विष्णु पन्थी प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। कार्यक्रममा अतिथिहरूको रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठ, न्यु होराइजन कलेजका अध्यक्ष निर्मल प्रसाद लाकौल, क्षितिज इन्टरनेशनल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ, विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्य, न्यु होराइजनका प्राचार्य लोकनाथ उपाध्याय र बुटवल मोडेल कलेजका प्राचार्य डा. नेत्रप्रसाद बस्याल,शैक्षिक निर्देशक लक्ष्मण गाैतम,डा. नारायण प्रसाद पन्थ,डा. तारानाथ भट्टराइ,डा.मुरारि पराजुली,उपप्राचार्यद्वय इन्द्र प्रसाद भुसाल,ज्ञानेश्वर ज्ञवाली,रूद्ध भुसाल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्राचार्य गोपाल प्रसाद आचार्यले विद्यार्थीहरूलाई उत्प्रेरित गर्दै भन्नुभयो— “तपाईँहरूले यहाँ हासिल गरेको ज्ञान र अनुशासन नै आगामी जीवनको सफलताको आधार हो। विद्यालयको ढोकाबाट बाहिर निस्कँदै गर्दा केवल प्रमाणपत्र मात्र होइन, समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक बन्ने संकल्प पनि बोकेर जानुहोस्।” प्राचार्य आचार्यले विद्यार्थीहरूलाई आगामी बोर्ड परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिँदै उच्च शिक्षाको यात्रामा विद्यालयको गरिमालाई सधैँ उच्च राख्न आग्रह गर्नुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्णु पन्थीले विद्यार्थीहरूलाई अनुशासित भएर राष्ट्र निर्माणमा टेवा पुर्याउने शिक्षा हासिल गर्न प्रेरित गर्नुभयो। विद्यालयका सञ्चालक तथा शिक्षकहरूले पनि विद्यार्थीहरूलाई आगामी बोर्ड परीक्षाको सफलता र उच्च शिक्षाको यात्राका लागि मार्गदर्शन प्रदान गर्नुभएको थियो।कार्यक्रममा १० जना विद्यार्थीहरूलाई नगद जनहि १०हजार सहित ideal student Award 2082 बाट सम्मानित गरिएको थियो।
सो अवसरमा कक्षा ११ का विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू (नृत्य तथा गीत) मार्फत आफ्ना अग्रजहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। बिदाइ भएर जाने विद्यार्थीहरूले विद्यालयमा बिताएका पलहरूको स्मरण गर्दै विद्यालय परिवार र गुरुजनहरूप्रति आभार प्रकट गरे।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, विभिन्न विषयका विभागीय प्रमुखहरू र शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन विद्यार्थीहरू वाणी फुल्लेल, प्रतिज्ञा भुसाल, सुमित भट्टराई र प्रयास कार्कीले गरेका थिए भने पुरस्कार वितरण कार्यक्रमको सञ्चालन उपप्राचार्य इन्द्रप्रसाद भुसालले गर्नुभएको थियो





