बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले विहानी र दिवा गरी दुई सत्रमा आयोजना गरेको उक्त कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै उनीहरूको सुखद भविष्यको कामना गरिएको थियो।

विहानी सत्रको अध्यक्षता कक्षा ११ की छात्रा सन्ध्या यादव र दिवा सत्रको अध्यक्षता सुभव पौडेलले गर्नुभएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विवेचना प्रसाई र श्रीषा न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्राचार्य दिनेश भुसालले विद्यालयको मूल ढोकाबाट बाहिरिँदै गर्दा विद्यार्थीहरूले यहाँ सिकेका संस्कार र अनुशासनलाई जीवनभर मार्गदर्शक बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “तपाईंहरूको यो बिदाइ सम्बन्धको अन्त्य होइन, बरु एउटा नयाँ उचाइको सुरुवात हो; संसारको जुनसुकै कुनामा पुगे पनि अक्सफोर्डको पहिचान र आफ्नो माटोलाई नबिर्सिनुहोला।” त्यसैगरी प्राध्यापक सुमन भुसालले शैक्षिक प्रमाणपत्र मात्र ठूलो कुरा नभएको उल्लेख गर्दै असल चरित्र निर्माण नै सफल जीवनको आधार भएको बताउनुभयो। उहाँले भन्नुभयो, “बिदाइ हुँदै गर्दा यहाँहरूले बोकेको ज्ञानको दियोले समाजलाई उज्यालो बनाओस्, तपाईंहरूको सफलता नै हाम्रो गौरव हो।”
त्यस्तै, क्याम्पस प्रमुख मनोज मरासिनीले बदलिँदो परिवेशमा आफूलाई अब्बल सावित गर्न कडा मिहिनेतको विकल्प नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “कक्षा १२ को यात्रा सकिए पनि सिकाइको यात्रा कहिल्यै रोकिँदैन, जहाँ गए पनि उत्कृष्ट र अनुशासित भएर राष्ट्र निर्माणमा जुट्नुहोला।” क्याम्पस अध्यक्ष अजित खनालले पनि विद्यार्थीहरूलाई आगामी परीक्षा र करियरका लागि शुभकामना दिनुभएको थियो। कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरू प्रतिक भण्डारी र हरसिता भण्डारीले आफ्ना अनुभवसहितको मन्तव्य राखेका थिए। झविन्द्र मरासिनी र कपिल ढकालको संयोजन तथा सगुन सुवेदी, स्वीकृती अवस्थी र जोन मरासिनीको सञ्चालनमा सम्पन्न उक्त समारोहमा विद्यार्थीहरूले आकर्षक गीत तथा नृत्यहरू प्रस्तुत गरेका थिए।साथै food making competition मा प्रथम,द्वितीय तृतीय तथा सान्त्वना हुने विद्यार्थीहरूलाई नगद १० हजार,८ हजार,६ हजार तथा ४ हजार तथा प्रमाणपत्रले सम्मान गरिएको थियो।





