नेपाली राजनीतिमा अहिले एउटा स्पष्ट आवाज उठिरहेको छ— पुरानोपनबाट मुक्ति र इमानदार परिवर्तनको खोजी। यही खोजीको केन्द्रमा दाङ–१ बाट एक युवा नाम गम्भीर रूपमा अघि आउँदैछ, प्रकाश शाही।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १, दाङमा आगामी निर्वाचनलाई लक्षित गर्दै शाहीलाई सम्भावित उम्मेदवारका रूपमा हेरिन थालेको छ। सत्ता र सुविधाभन्दा संघर्ष र सत्य रोज्ने स्वभाव, अन्यायविरुद्ध नझुक्ने अडान र जनताको पक्षमा निरन्तर उभिँदै आएको इतिहासका कारण उनी देउखुरीको राजनीतिक भविष्यसँग जोडिन थालेका छन्।
राप्ती गाउँपालिका निवासी शाही सामान्य परिवारबाट उठेर राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्ने हैसियतमा पुगेका युवा नेता हुन्। एम.फिल. उत्तीर्ण तथा पीएचडी स्कलर शाहीको पहिचान कागजी प्रमाणले होइन, मैदानमा देखिएको संघर्ष र साहसले निर्माण गरेको हो। विद्यार्थी आन्दोलनबाट सुरु भएको उनको यात्रा आज सुशासन, सामाजिक न्याय, राष्ट्रियता र भ्रष्टाचारविरोधी आन्दोलनसम्म आइपुगेको छ।
विचारबाट नेतृत्वतर्फ
विद्यार्थी संगठनको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्दै हजारौँ युवाको आवाज बनेका शाहीले राजनीति भाषण र पदको खेल होइन, जनताको जिम्मेवारी हो भन्ने मान्यता स्थापित गरे। शिक्षा, स्वास्थ्य, रोजगारी र युवाको भविष्य उनका मुख्य राजनीतिक एजेन्डा हुन्। उनीका लागि राजनीति सत्ता प्राप्त गर्ने साधन होइन, अन्यायविरुद्ध लड्ने माध्यम हो।
जन्मदिनलाई अभियानमा रूपान्तरण

२०७१ सालमा शाहीले आफ्नो जन्मदिनलाई व्यक्तिगत उत्सव होइन, सामाजिक उत्तरदायित्वको दिन बनाए। अनाथ, असहाय र वृद्ध–वृद्धाको सेवामा समर्पित भएर जन्मदिन मनाउने संस्कारको सुरुआत उनले दाङको रामपुरस्थित बालिमखोला क्षेत्रमा एक वृद्ध दम्पतीको आवास निर्माणमा सहयोग गरेर गरे। यसले उनको राजनीतिक सोचको स्पष्ट संकेत दिएको थियो।
विपद् र संकटमा देखिएको प्रतिबद्धता
२०७२ सालको विनाशकारी भूकम्पपछि गोर्खाको बारपाकमा एक महिना बसेर पीडितको सेवामा खटिनु शाहीको नेतृत्व क्षमताको प्रमाण बन्यो। कुनै पद नहुँदा पनि उनले जिम्मेवारीबाट कहिल्यै पन्छिन चाहेनन्।
भ्रष्टाचारविरुद्ध निडर अडान
प्रकाश शाहीको अर्को बलियो परिचय भनेको भ्रष्टाचारविरुद्धको निर्भीक संघर्ष हो। २०७२ मा दाङ प्रगन्ना कार्यालयमा घुस प्रकरणमा समातिएकी इन्जिनियरविरुद्ध कानुनी कारबाहीको पहलदेखि २०७३ पुस ७ गते अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध सर्वोच्च अदालत परिसरमै कालोमोसो प्रकरणसम्म उनी पछाडि हटेनन्। एक महिना जेल बस्नुपरे पनि उनले त्यसलाई हार होइन, संघर्षको प्रमाण माने।
जहाँ अन्याय, त्यहीँ शाही
निर्मला पन्त, नवराज विकलगायत थुप्रै संवेदनशील घटनामा जब धेरै मौन रहे, शाही खुलेर बोले। भालुवाङस्थित ज्वालामाई गणमा सशस्त्र प्रहरीद्वारा बालिकामाथि भएको बलात्कार प्रकरणमा दोषी पक्राउ गराउन निर्णायक भूमिका खेल्नु उनको साहसको उदाहरण हो।
राष्ट्रहितका लागि सडकदेखि सीमासम्म
लिपुलेक, कालापानी र सुस्ताजस्ता सीमावर्ती विषयमा शाहीले देशव्यापी आन्दोलनको नेतृत्व गरे। चितवनको सोमेश्वर गढीमा १०० मिटर काँडेतार लगाएर गरिएको प्रतिरोध उनको राष्ट्रप्रेमको प्रतीक बन्यो।
स्थानीय तहमा निगरानी, राज्यसम्पत्तिको संरक्षण
२०८० असार १८ मा राप्ती गाउँपालिकाको कुलो मर्मत योजनामा भएको राजस्व हिनामिना प्रकरण उजागर गर्नु सजिलो थिएन। CDO, प्रहरी र स्थानीय नेतृत्वको मिलेमतो सार्वजनिक गर्दा उनले जोखिम लिए, तर पछि हटेनन्। बतास समूहदेखि बासबारी जग्गा प्रकरणसम्म उनको सक्रियता देखिन्छ।
श्रमिक र शरणार्थीको आवाज
भुटानी शरणार्थी काण्डमा प्रभावशाली व्यक्तिविरुद्ध आन्दोलन गर्दा २०८० मा उनी पक्राउ परे। विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धार र सहयोगमा समेत शाही सक्रिय रहँदै आएका छन्।
‘देशभक्त अभियान’ र वर्तमान भूमिका
‘देशभक्त अभियान’मार्फत राष्ट्रहितको चेतना फैलाउँदै आएका शाही हाल धानखोला–लमही चारलेन सडक निर्माण संघर्ष समितिको संयोजकका रूपमा नेतृत्व गरिरहेका छन्। उनको राजनीतिक दर्शन चार स्तम्भमा आधारित छ— सामाजिक न्याय, पारदर्शी शासन, राष्ट्रहित र जनतामैत्री नेतृत्व।
पुराना अनुहारको दोहोराइ र बढ्दो जनअसन्तुष्टिको यस घडीमा दाङ–१ का लागि प्रकाश शाहीजस्ता संघर्षशील, इमानदार र निर्भीक युवा नेतृत्वलाई अवसर दिनु परिवर्तनतर्फको ठोस कदम हुन सक्ने देखिन्छ।






