युएईमा ‘सहिष्णुता राष्ट्रिय उत्सव’: नेपालको सांस्कृतिक झाँकीले जित्यो दर्शकको मन, पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

Shares

अबुधाबी, नोभेम्बर १८ (एजेन्सी)
युएईको राजधानी अबुधाबीमा सम्पन्न ‘सहिष्णुताको राष्ट्रिय उत्सव (National Festival of Tolerance-2025)’ मा नेपालले पहिलो पटक पर्यटन बुथसहित सक्रिय सहभागिता जनाएर अन्तर्राष्ट्रियस्तरमा आफ्नो सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गरेको छ। नेपाली राजदूतावास, अबुधाबीको नेतृत्वमा भएको यस सहभागिताले युएई र नेपालबीचको कूटनीतिक तथा जनस्तरको सम्बन्धलाई थप उचाइ दिएको छ।

नोभेम्बर १४ देखि १६ सम्म उम अल इमिरात पार्कमा आयोजित सातौँ संस्करणको यस उत्सवलाई युएईका सहिष्णुता तथा सह-अस्तित्व मन्त्री शेख नाहयान बिन मुबारक अल नाहयानले उद्घाटन गर्नुभएको थियो। यस वर्षको नारा ‘हाथमा हात (Hand in Hand)’ रहेको थियो।

उच्च तहबाट नेपाल स्टलको अवलोकन

मेला उद्घाटनपछि मन्त्री शेख नाहयानले नेपालको स्टलमा पुगी महामहिम राजदूत तेज बहादुर क्षेत्रीसँग नेपालको पर्यटन, संस्कृति र भौगोलिक विविधताका बारेमा चासोका साथ जानकारी लिनुभएको थियो।

नेपाल स्टल अवलोकन गर्नेहरूमा विभिन्न देशका राजदूतहरू, कूटनीतिज्ञहरू, युएई सरकारका पदाधिकारीहरू, पर्यटन व्यवसायी र स्थानीय समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। अवलोकनकर्ताहरूले नेपालको प्राकृतिक सुन्दरता, हस्तकला र सांस्कृतिक विविधतामा उच्च रुचि व्यक्त गरेका थिए।

नेपालको विविधतामय संस्कृति प्रदर्शन

मेलाको दोस्रो दिन, नोभेम्बर १५ मा नेपालको संस्कृति विशेष प्रस्तुतिहरू गरिएका थिए।

नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) ले नेपालको जातीय तथा क्षेत्रीय परम्परा र संस्कृति झल्काउने सामूहिक नृत्य र झाँकीहरू भव्यताका साथ प्रस्तुत गरेको थियो।

नेवाः पुचः द्वारा नेवारी कला र संस्कृति प्रतिनिधित्व गर्ने प्रसिद्ध लाखे नृत्य प्रदर्शन गरिएको थियो, जसले अन्तर्राष्ट्रिय दर्शकहरूलाई निकै आकर्षित गर्‍यो।

नेपालको बुथलाई नेपाली हस्तकला, मूर्तिकला, पर्यटकीय पोष्टर र नेपालको प्राकृतिक सुन्दरता झल्काउने चित्रहरूका साथै नेपाली उत्पादनहरूले आकर्षक रूपमा सजाइएको थियो।

बालबालिका लक्षित अन्तर्क्रियात्मक कार्यक्रम

दूतावासले बुथमा बालबालिका तथा परिवारलाई लक्षित गरी ड्रइङ, कलरिङ र अन्य अन्तर्क्रियात्मक गतिविधिहरू सञ्चालन गरेको थियो। नेपालको पर्यटन, भूगोल र नेपाल-युएई सम्बन्धबारे गरिएका छोटो क्विजहरू मा सही जवाफ दिने सहभागीहरूलाई दूतावास र नेपाल पर्यटन बोर्डबाट आकर्षक प्रमोशनल उपहारहरू प्रदान गरिएको थियो।

कूटनीतिक सफलता र भविष्यको आधार

एसिया, युरोप र अफ्रिकाका थुप्रै कूटनीतिक नियोगहरूले आ-आफ्ना स्टल राखेको यस उत्सवमा ग्लोबल हेरिटेज शोकेस, कला प्रदर्शनी र अन्तर्राष्ट्रिय सांगितिक कार्यक्रमहरू आयोजना गरिएका थिए।

नेपाली दूतावासले जनाएअनुसार, उत्सवमा नेपालले प्राप्त गरेको उच्च रुचि र सकारात्मक प्रतिक्रियाले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उज्वल बनाउन र युएईसँगको सांस्कृतिक कूटनीतिक सम्बन्धलाई झनै सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको छ।

मेलाको सफल समापनपछि नेपाली राजदूतावासले यस कार्यलाई सफल पार्न सहयोग गर्ने युएई सरकार, दूतावास परिवार, नेपाली समुदाय, आदिवासी जनजाति महासंघ, नेवाः पुचः, सञ्चारकर्मी तथा सम्पूर्ण स्वयंसेवकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।

 

 

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.