सैनामैना समूहको अनुकरणीय कार्य: भैलोको रकम विद्यार्थीलाई सहयोग, मानव सेवा आश्रममा भोजनदान

Shares

२९ कात्तिक, बुटवल / सैनामैना समूहको अनुकरणीय कार्य: देउसी-भैलोको रकमले विपन्न विद्यार्थीलाई सहयोग, मानव सेवा आश्रममा भोजनदान रुपन्देहीको सैनामैना–१ मा सक्रिय सैनामैना साँस्कृतिक समूहले तिहारमा देउसी–भैलोबाट संकलन भएको रकमलाई शिक्षा र समाजसेवामा खर्च गरी उदाहरणीय कार्य गरेको छ।

समूहले बनकट्टास्थित दुर्गा भवानी माविका २० जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै तिलोत्तमा–बुटवलको मानव सेवा आश्रमका १८० जनालाई भोजन गराएर सामाजिक उत्तरदायित्व पूरा गरेको छ।

कार्तिक २८ गते शुक्रबारको दिन समूहले देउसी–भैलोबाट संकलित रकम प्रयोग गर्दै सैनामैना–१ बनकट्टास्थित दुर्गा भवानी माध्यमिक विद्यालयका २० जना विपन्न तथा मेधावी विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको थियो।

विद्यार्थीहरूको अध्ययनमा रुचि बढाउने र आर्थिक कठिनाइले शिक्षामा असर नपरोस् भन्ने उद्देश्यले आयोजित यो कार्यक्रम समूहका अध्यक्ष प्रकाश चौधरीको अध्यक्षता र विद्यालयका प्राचार्य तुलसीराम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले, “आर्थिक अभावका कारण पढाइमा चुनौती भोगिरहेका बालबालिकाका लागि यो सहयोग अत्यन्तै उपयोगी हुनेछ,” भन्ने विश्वास व्यक्त गर्नुभयो। प्राचार्य शर्माले विद्यालयका अधिकांश विद्यार्थी विपन्न पृष्ठभूमिबाट आएकाले समूहप्रति कृतज्ञता ज्ञापन गर्नुहुँदै दैनिक सिकाइ प्रक्रियामा यसले सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

मानव सेवा आश्रम बुटवलमा समेत समूहले अनाथ, असहाय, अपाङ्ग तथा विपन्न १८० जना व्यक्तिहरूलाई खाजा–भोजन वितरण गर्दै तिहारको खुसी बाँडेको थियो।

समूहका संयोजक कमल खड्काका अनुसार आश्रममा गरिएको सहयोग अत्यन्तै शान्त, सौहार्दपूर्ण र भावनात्मक वातावरणमा सम्पन्न भएको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.