१८ मंसिर, चितवन – पर्यटकीय क्षेत्र सौराहामा घुम्न आएकी एक किशोरीको होटलको चौथो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ।
मृत्यु हुने किशोरी सिन्धुलीको कमलामाई नगरपालिका–६ की १८ वर्षीया स्नेहा पाख्रिन रहेकी छन्। उनी सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलकी छात्रा हुन् र विद्यालयको शैक्षिक भ्रमणका क्रममा सौराहा पुगेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार स्नेहा रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइड होटलको चौथो तलाको झ्यालबाट गएराति करिब ११ बजे खसेकी थिइन्। तत्काल उपचारका लागि उनलाई रत्ननगरस्थित बकुहलर अस्पताल लगिएको थियो, तर चिकित्सकले राति ११:४५ बजे उनलाई मृत घोषणा गरेका थिए।
किशोरीको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Post Views: 189






