२० वैशाख, काठमाडौं ।
अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने भएको छ ।
सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिए ।
नेपाली नागरिकहरुलाई चेकजाँच गरेर मात्र आउन दिने र संक्रमितको उपचार गरिने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारी नियन्त्रण, रोकथाम र उपचार गर्न सरकारले चालेका कदमलाई सहयोग गर्न देशवासीलाई आग्रह गरेका छन् ।
सम्बोधनकै क्रममा प्रधानमन्त्रीले जनस्वास्थ्यका मापदण्डलाई कडाइको साथ पालना गर्न आग्रह गरे । कोभिड संकटसँग जुध्ने अभियानमा नेपाललाई सहयोग गर्न प्रधानमन्त्रीले अन्तराष्ट्रिय समुदायसँग अपिल पनि गरे ।
अहिले लागु गरिएको निषेधाज्ञालाई कडाइ गरिने बताउँदै प्रधानमन्त्रीले निषेधाज्ञाको कारण कसैलाई भोकै हुन नदिनेमा सरकार सचेत रहेको समेत उनले बताए ।
सरकारले चीन र रुससँग खोप खरिद प्रक्रिया सुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले कोभ्याक्स सुविधामार्फत खोप ल्याउन सरकार प्रयत्नशिल रहेको पनि बताए ।