ब्रेकिङ
प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते
  • हजुरकाे पाेष्ट

  • २ मंसिर, काठमाडौं । प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएको कानून व्यवसायीहरुले जानकारी दिएका छन् । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले दमन गर्न प्रहरी परिचालन गरेको भन्दै कानुन व्यवसायीहरुले उनलाई माफी माग्न आग्रह गरेका छन् ।

    सर्वोच्च अदालत परिसरमा बिहीबार प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुमाथि प्रहरीले बिहीबार बल प्रयोग गरेको छ । बल प्रयोगबाट घाइते भएका बार अध्यक्ष श्रेष्ठलाई अस्पताल लैजाँदै गरेको प्रदर्शनस्थलमा माइकिङ गरेर कानून व्यवसायीहरुले जानकारी दिएका छन् ।

    नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले अध्यक्ष श्रेष्ठको छातीमा चोट लागेको जानकारी दिए । अन्य केही वकिलहरुको टाउकोमा चोट लागेको र अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारको लागि लगिएको उनले बताए । प्रकाश महर्जन, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे लगायत घाइते भएका कानून व्यवसायीहरुले जानकारी दिएका छन् ।

    घाइते भएका बार केन्द्रीय सदस्य प्रकाश महर्जन

    प्रहरीको घेरा तोड्न खोजेपछि कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको थियो । धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत भुइँमा लडेका थिए । उनीहरुमाथि प्रहरीले हातपात गरेको कानून व्यवसायीहरुको भनाइ छ । एकजना डिएसपीको हातमा चोट लागेको छ ।

    शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।

    यसैबीच सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले प्रहरीलाई दमन गर्न निर्देशन दिएको भन्दै कानुन व्यवसायीहरुले उनलाई माफी माग्न आग्रह गरेका छन् । माफी मागेर आफूहरुलाई साथ दिन प्रदर्शनस्थलबाटै कानून व्यवसायीहरुले कुँवरलाई आह्वान गरे ।

  • २ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech