काठमाण्डौ – देशभर रहेका अक्सिजन उद्योगबाट दैनिक १३ हजार सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ । काठमाण्डाैमा ८ सहित देशका विभिन्न ठाउँमा रहेका २० वटा उद्योगबाट अहिले अक्सिजन उत्पादनको काम भइरहेको व्यवसायीहरुले बताएका छन् ।
सीमित सिलिण्डरका कारण भनेजति अक्सिजन उत्पादन गर्न नसकिएको नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायणदत्त तिमल्सिनाले बताउनुभएको छ । उहाँले आवश्यक सिलिण्डरको बन्दोबस्त भएमा आफूहरु जति पनि उत्पादन गर्न तयार रहेको बताउनुभयो । पछिल्ला दिनहरुमा चौबीसै घण्टा अक्सिजन उत्पादनमा आफूहरु खटिएको भन्दै उहाँले सिलिण्डरको मात्रै व्यवस्थापन हुने हो भने केही सहज हुने बताउनुभयो ।
अस्पतामलमै भर्ना गरेर राख्नुपर्ने कोरोना संक्रमितको संख्या हरेक दिन बढेसँगै अक्सिजनको माग पनि बढ्न थालेको छ । हरेक दिन अक्सिजन सिलिण्डरको माग बढिरहेको र यही रफ्तारमा माग बढ्ने हो भने धान्न सक्ने अवस्था नै नरहेकोले तत्काल चाहिने बन्दोबस्त गर्न अक्सिजन उत्पादन गर्ने व्यवसायीहरुको माग छ ।
कोरोना महामारी आउनुभन्दा पहिले नै आफूहरुले आवश्यक प्रबन्ध मिलाउन भने पनि सरकारले वास्ता नगर्दा अहिले यो अवस्था आएको उनीहरुको भनाइ छ ।
महासचिव तिमल्सिना भन्नुहुन्छ, – ‘अक्सिजन उत्पादनका लागि आवश्यक प्रबन्ध मिलाइदिन सरकारसँग धेरैपटक आग्रह गर्याैँ, अहिले आएर हतारो भएको छ । त्यतिबेलै हामीले भनेजसरी व्यवस्थापन गरेको भए यो अवस्था आउने नै थिएन ।’
यस्तै बिरामीको घर र अस्पतालमा त्यसै राखिएका अक्सिजन सिलिण्डरको संकलनको काम भइरहेको सरकारले जनाएको छ । नपुगे विदेशबाट समेत ल्याउन सबै बाटो खुला गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभएको छ