बुटवल २३,बैशाख
बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले बुटवल उपमहानगरपालिकाको अक्सिजन बैंक सेवामा सहकार्य गरेको छ । मैनावगर क्षेत्रमा रहेका व्यवसायीहरूसंग संकलित ३५ थान अक्सिजन सिलिन्डर उपमहानगर प्रमुख शिवराज सुवेदीको उपस्थितिमा एसोसिएसनका अध्यक्ष बाबुलाल पाण्डेले प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीलाई हस्तान्तरण गर्नुभयो ।
त्यसअवसरमा प्रमुख सुवेदीले जनस्वास्थ्यको संवेदनशील विषयमा सहकार्य गरेको भन्दै आभार प्रकट गर्नुभएको छ । उहाँले बुटवलका र बुटवललाई माया गर्ने अरु सामाजिक संघ संस्थालाई पनि महामारी विरुद्धको अभियानमा सहकार्यका लागि आग्रह गर्नुभएको छ ।
उपमहानगरमा आयोजित संक्षिप्त कार्यक्रममा एसोसिएसनका बाणिज्य उपाध्यक्ष बाबुराम आचार्य, उपमहानगरका स्वास्थ्य शाखा प्रमुख उमा थापा, खोप प्रमुख कल्पना भट्टराई, गीतादेवी पाण्डे, एसोसिएसनमा आबद्ध व्यवसायीहरु उद्योग उपाध्यक्ष कृष्ण न्यौपाने, भेषराज खत्री, युवराज ढकाललगायतले महामारी विरुद्धको अभियानमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
२३ बैशाख २०७८, बिहीबार प्रकाशित