काठमाडौं , जनता समाजवादी पार्टी जनसपाको यादव पक्षले पार्टी विधान विपरित काेही पनि संसदीय दलको नेता चयन हुन नसक्ने स्पष्ट पारेको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी बैठककै बीचमा संचारकर्मीसँग कुरागर्दै नेता रामबाबु यादवले विधान विपरित हिँड्ने जो काेहीलाइ कारवाही गर्ने बताएका हुन् । नेता यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको आरोप लगाए ।
संचारकर्मीसँग कुरा गर्दै नेता यादवले संसदीय दलको विधान बनेपछि केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि राजेन्द्र महतोलाई संसदीय दलको नेता विधान विपरित बनाइएको जिकिर गरे । उनले भने– ‘अहिले हाम्रो संसदीय दलको विधान बनेको छैन । विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन ।’
सांसद यादवले महन्थ–राजेन्द्र पक्षले आफुहरुलाई विधानभन्दा माथि बुझ्ने गरेको आरोप लगाए । संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरी प्रचार गरिएको भन्दै उनले विधान विपरित गर्नेलाई कारबाही गरिने पनि बताए ।