१२ जेठ,बुटवल – कोरोना महामारीका कारण बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा प्रार्थना गरिएको छ ।
लकडाउनका कारण सरकारले तय गरेकाे मापदण्डअनुसार लुम्बिनीमा रहेको मायादेवी मन्दिर परिसरमा महायानी, बज्रयानी र थेरवादी सम्प्रदायका गुरु÷गुरुमा, भिक्षु/भिक्षुणी र लामाहरु उपस्थित भएर बुद्धपूजा र मन्त्रोच्चारण गरेका छन् ।
त्यसबाहेक कार्यक्रमस्थलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभा सदस्य फखरुद्दिन खान, लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारी मात्रै सहभागी भएका छन् । यसअघिका वर्षहरुमा धुमधामका साथ विशेष समारोहको आयोजना गरी बुद्ध पूर्णिमा मनाइने गरेको भए पनि कोरोनाका कारण पोहोर र यसपालि औपचारिक कार्यक्रम नगरिएको लुम्बिनी विकास कोषका सदस्य सचिवले बताए ।
उनका अनुसार बेलुका कोरोना महामारी अन्त्य, संक्रमितहरुको स्वास्थ्यलाभ र ज्यान गुमाएकाहरुको सम्झनामा २५६५ वटा दीप प्रज्ज्वलन गरिनेछ । २५६५ औँ बुद्ध जयन्तीकाे उपलक्षमा त्यति नै दीप प्रज्जवलन गरिने भएकाे हाे ।