१७ जेठ काठमाण्डाै – अर्थ मन्त्री विष्णु पौडेलले आउँदाे आर्थिक वर्षको बजेट कार्यन्वयन गर्नका लागि मन्त्रालयगत कार्ययोजना तय गरिने बताएका छन । सरकारले आउँदाे आर्थिक वर्षका लागि अध्यादेशमार्फत ल्याएको बजेट राम्रो हुँदा हुँदै पनि कार्यान्वयनमा शङ्का गरिएको भन्दै अर्थ मन्त्री पौडेलले मन्त्रालयगत कार्ययोजना बनाएर सरकार अघि बढ्ने बताए।
सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको बजेटपछिको छलफल कार्यक्रममा उहाँले स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने र त्यसका लागि सोमवारदेखि नै सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग छलफल थालिएको बताए ।
मन्त्री पौडेलले चुनावपछि पनि एमाले नेतृत्वकै सरकार बन्ने सामर्थ्य राख्ने भन्दै उहाँले सरकारले नागरिकप्रतिको जिम्मेवारी पूरा गर्न र संविधानको कार्यन्यवन गर्नका लागि बजेट ल्याएकोले बजेटभित्र बसेर टिप्पणी गर्न आग्रह गर्नुभयो ।
‘हामी कोभिड भनेर हात ठडाएर बस्दैनौँ, आजको परिस्थितिसँग जुध्दै अघि बढ्छौँ’, मन्त्री पौडेलले भने, ‘चुनाव हुँदैछ बजेट नल्याऊ भन्न मिल्दैन, बजेट नल्याउन भनेको यस्तो बेला कोभिड–१९ खोप नल्याऊ, कोरोनाको विषम परिस्थितिसँग नजुध भने जस्तै हो ।’
कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले पनि बजेट कार्यान्वयन समयमै गर्नका लागि बजेटमार्फत केही सुधारको प्रयास भएको बताएका छन । सचिव ढुङ्गानाले सामाजिक सुरक्षा भत्ता विचार गरेर नै बढाइएको प्रतिक्रिया दिए । उनले सामाजिक सुरक्षाको रकम तत्कालीन रूपमा यसरी नै अघि बढाइए पनि दीर्घकालीन रूपमा योगदानमा आधारित बनाइने बताए ।
कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधीले बजेट निजी क्षेत्र मैत्री भएको भन्दै खुसी व्यक्त गरेका छन् । बजेट कार्यान्वयनमा शङ्का गर्दै निजी क्षेत्रका प्रतिनिधिले बजेटमा उल्लेख गरिएका कुरा यथाशीघ्र छिटो कार्यान्वयनमा लैजान आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले यसपालिको बजेटमा सरप्राइज भएको बताए । ‘चुनावकाे घोषणा गरिसकेको सरकारले हाम्रा माग सम्बोधन गर्न सक्दैन कि जस्तो लागेको थियो त्यही पनि ६० प्रतिशत सुझाव सम्बोधन भए, कोभिड खोपको व्यवस्थाका लागि बजेट ठिक छ । पर्यटन, मनोरञ्जन क्षेत्रमा विशेष सहुलियत भनिएको थियो, आएको छ, राम्रो छ’, ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले बजेट कार्यान्वयन र बजेटले राखेको लक्ष्य पूरा गर्न चुनौतीपूर्ण भए पनि बजेट नीति सकरात्मक रहेको प्रतिक्रिया दिनुभयो । उहाँले समयमै सर्वसुलभ खाेपकाे व्यवस्था गर्न सकेमा आर्थिक क्रियाकलाप विस्तार भइ साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्यान्वयनमा चुनौतीका बाबजुद बजेट निजी क्षेत्र मैत्री रहेको प्रतिक्रिया दिएका थिए ।