नेपालगंज । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भेरी अस्पतालमा स्वास्थ्यकर्मीरुले गरेको आन्दोलनलाई नाटकको संज्ञा दिएका छन् ।
अध्यक्ष धितालले नेपाल सरकार स्वास्थ्यकर्मी संवेदनशील ढंगले अघि बढेको भन्दै स्वास्थ्यकर्मीको आन्दोलनलाई अस्पतालमा राजनीति भैरहेको आरोप समेत लगाएका छन् ।
समितिले प्रतिवेदन वुझाए पनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन भने प्रतिवेदन माथि औपचारिक कार्वाही पनि सुरु भएको छैन । यस्तो बेलामा अस्पताल विकास समितिका अध्यक्षबाट आएको धम्कीपूर्ण अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि मृतकका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायतको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि विहीबार राती अन्धाधुन्ध आक्रमण गरेका थिए। उनीहरुले नर्सिङ स्टाफको घाँटी च्याप्ने देखि अन्य स्वास्थ्यकर्मीहरुलाई साँघातिक आक्रमण गरेपछि ३ जना नर्स सहित १ जना चिकित्सक एकतलामाथिबाट हाम्फालेर ज्यान बचाएका थिए ।
चिकित्सकहरुमाथि अमानवीय आक्रमण पछि राष्ट्रपतिदेखि विपक्षी दलका नेताहरुसम्मको विरोध पछि बांके प्रशासनले छानवीन समिति बनाएको थियो भने संघीय सरकारको गृहमन्त्रालयले समेत दोषीलाई कार्वाही हुने प्रष्टिकरण दिएको थियो ।
घटना लगत्तै सुरक्षाको माग गर्दै काम बन्द गरेर अस्पताल बाहिर भेला भएपछि प्रहरीले घटनामा संलग्न मानबहादुर रावत सहित तीनजनालाई बांके प्रहरीले ज्यान मार्ने उद्येग अन्तर्गत मुद्दा चलाएको छ । पक्राउ परेका मानबहादुरले प्रहरी हिरातबाटै आफ्नो दाजुको हत्या गर्नेसँग बदला लिएरै छाड्ने भन्दै फेसबुक मार्फत स्वास्थ्यकर्मीलाई धम्कि दिएका थिए ।
मृतक रावतको उपचाररत रहेकै बेलामा समेत पक्राउ परेका मानबहादुर सहितका मृतकका आफन्तले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र अध्यक्ष धितालको नाम लिएर स्वास्थ्यकर्मीलाई तर्साउने र धम्काउने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य एवं मुख्यमन्त्री पोखरेल निकटमा ब्यक्ति हुन् भने अध्यक्ष धिताल मुख्यमन्त्री पोखरेलको नातेदार हुन् ।