२१ जेठ,काठमाण्डाै सर्वोच्च अदालतको ‘फुल कोर्ट’ अर्थात न्यायाधीशहरूको पूर्ण बैठक सम्पन्न भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्चका २० जना न्यायायाधीशसहित पूर्ण बैठक बोलाएर कोरोना महामारी र निषेधाज्ञामा खुम्चिएको सर्वोच्चको सेवालाई कसरी बढाउने भन्ने विषयमा छलफल गरेका हुन ।
आजको बैठकमा संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशलाई राख्ने गरी नियमावली संशोधन गर्ने निर्णय हुने अनुमान गरिए पनि नियमावली संशोधनको बारेमा कुनै निर्णय भएको छैन । प्रतिनिधि सभा विघटनका मुद्दामा वरिष्ठताका आधारमा नयाँ इजलास गठन गर्ने तर नियमावली नै संशोधनको कुनै निर्णय नभएको सर्वोच्चले जनाएको छ ।
बैठकले कोरोना महामारीको अवस्था कम नभएको भन्दै अहिले जस्तै गरेर मुद्दाको सुनुवाइ गर्ने पनि निर्णय गरेको छ । प्रतिनिधि सभा विघटनको मुद्दामा संवैधानिक इजलासमा नेकपाको एकता बदर गर्ने न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको उपस्थितिबारे प्रश्न उठेपछि सुनुवाइ नै रोकिएको छ । न्यायायाधीशद्वय श्रेष्ठ र केसीले संवैधानिक इजलास छाड्न मानेका छैनन् भने उनिहरूकै कारण देखाउँदै दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने घोषणा गरेका थिए ।
संवैधानिक इजलासको विषयमा विवाद भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नियमावली संशोधन गरेर नयाँ इजलास तोक्ने वचन दिएका थिए ।