२१ जेठ,काठमाण्डाै – जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको आजै शपथ ग्रहणको तयारी भएको छ । ठाकुर पक्षबाट उपप्रधानमन्त्रीसहित आठ जना मन्त्री र दुई जना राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने निश्चित भएको छ ।
आजै साँझसम्म शपथ हुन सक्ने भएकाले आफूहरूलाई तयारी अवस्थामा रहन भनिएको छ । जसपाको ठाकुर पक्षबाट नेता राजेन्द्र महतो उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री बन्ने भएका छन ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा शरदसिंह भण्डारी, खानेपानी मन्त्रीमा अनिल झा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा विमल श्रीवास्तव, वन तथा वातावरण मन्त्रीमा उमाशङ्कर अगरिया, भूमि सुधार मन्त्रीमा लक्ष्मणलाल कर्ण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा चन्दा चौधरी, युवा तथा खेलकुदमा एकबाल मिँयाको नाम टुङ्गो लागेको छ । यस्तै राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी र रेणुका गुरुङको नाम राखिएको छ ।
जनता समाजवादी पार्टीकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले भने प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गर्दै अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई पार्टीबाट निष्कासन गरेको छ । ठाकुर पक्षले पनि यादव पक्षका नेतालाई निष्कासन गरेको छ । दुवैको विवाद निर्वाचन आयोगमा पुगेको छ ।