३० जेठ, वालिङ(स्याङ्जा) । शनिबारदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
आइतबार बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका-२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएकाे छ ।
पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा-स्याङ्जा सडक खण्ड बन्द भएको हो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा अहिले पनि पहिरो झरिरहेको प्रहरीले बताएकाे छ ।
सडक विभाग तथा सम्बन्धित निकायसँगको समन्वयमा बाटो खुलाउने कार्य थालिए पनि पानी परिरहेकाले सडक खुलाउन समय लाग्ने भएको छ । सडकमा सवारी साधनहरुको जाम रहेको छ ।