असार १ बुटवल , लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रुकुमका खामभाषी मगर समुदायले हरेक वर्षको असार १ गते मनाउने भूमे पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै भूमे पर्वलाई लुम्बिनी प्रदेशको विशेष सांस्कृतिक पर्वको रुपमा लिदै । प्रदेश सरकारले रोल्पा र रुकुममा स्थानीय बिदा दिने निर्णय गरेको छ ।
पर्वको अवसरमा एक शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले लेखेका छन्-‘भूमे पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त खामभाषी मगर समुदाय लगायत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिकोे हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
शुभकामना सन्देशमा लेखिएको छ -‘मुलुक यतिखेर संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा अघि बढेको छ । तीन तहका सरकारले संवैधानिक व्यवस्था अनुसार तहगत सरकारको अभ्यास गरी संविधानको व्यवहारिक कार्यान्वयन गर्दै अघि बढेका छन् । संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने वातावरण बन्ने छ । संविधान कार्यान्वयन गर्दै सरकार समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा अघि बढेको छ । विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामुलक समाज निर्माणका लागि हामी प्रतिबद्ध रहँदै अघि बढेका छौं । नेपाल, सुखी नेपालीसमृद्धको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकास मार्फत समृद्ध प्रदेश, खुसी जनताको लक्ष्य लिएको छ ।’