१ असार बुटवल-लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछ। बजेटले स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए।
गत वर्ष ३७ अर्ब ३५ करोडको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब हाराहारीको बजेट ल्याउँदै छ । गत वर्षको तुलनामा २ देखि साढे ३ अर्ब बढीको बजेट आउने आर्थिक मामिला मन्त्रालय स्रोतले बताएको छ ।
आगामी वर्षको बजेटमा ससर्त र समपूरक बजेटसहित झन्डै ४ अर्ब बजेट प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाउनेछ । त्यसबाहेक कोभिड कोषबाट खर्च गर्ने र महामारीमै खर्च गर्न मिल्ने गरी सरकारकै अर्थ विविध शीर्षकमा पनि ठूलै रकम रहनेछ ।
आर्थिक मामिलामन्त्री एवं सरकारका प्रवक्ता चौधरीले स्वास्थ्यलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट तयार भएको बताए । बजेटको ठूलो हिस्सा स्वास्थ्य, कृषि, बेरोजगारी अन्त्य, आर्थिक क्षेत्रको पुनरुत्थानमै रहने उनले बताए ।
सरकारले आगामी वर्षका लागि महत्त्वाकांक्षी र नयाँ योजना कुनै पनि समावेश गरेको छैन । गत वर्षदेखिका राम्रा मानिएका मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम, स्मार्ट कृषिलगायतका अभियानमुखी कार्यक्रम निरन्तर हुनेछन् ।
त्यस्तै सडक, पुल, सिँचाइ, विद्युत्लगायतका पूर्वाधार विकासका क्रमागत योजनाका लागि पनि पर्याप्त बजेट व्यवस्थापन हुने आर्थिक मामिला तथा योजनामन्त्री चौधरीले बताए ।
रोजगारी सिर्जना गर्ने साना तथा मझौला उद्योग स्थापना, कृषिमा युवा सहभागिता, रोजगारी प्रवर्द्धन गर्ने सहकारी संस्थालगायतका कार्यक्रम पनि सरकारको प्राथमिकतामा छन् ।