लमजुङ — दोर्दीखोलामा आएको बाढीले लमजुङको दोर्दी गाउँपालिका–८ हिलेबजार क्षेत्रका १४ घर बगाएको छ । वडा सदस्य चन्द्रबहादुर गुरुङले मंगलबार बिहानैदेखि परेको वर्षाले दोर्दीखोलामा ठूलो बाढी आउँदा अपराह्नतिर बजारका घरहरू बगाएको बताए ।
१ सय २० घर रहेको उक्त क्षेत्र नै बाढीको उच्च जोखिममा छ । गुरुङका अनुसार घर बगाएका र उच्च जोखिममा रहेकालाई फलेनी माविको भवनमा राखिएको छ । ‘कोही घरबाहिर थिए । कोही घरमै थिए । एक्कासि बाढी आएपछि सबै भागेर ज्यान बचायौं,’ गुरुङले भने, ‘कोहीले मेलाबाट साँझ अबेर घर आएपछि मात्रै आफ्नो घर बगाएको थाह पाए ।’
बाढीले बिजुलीको पोल बगाउादा विद्युत् अवरुद्ध भएको छ । खेलमैदान र किसानका कुखुराको खोर पनि बगाएको छ । गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बाढीले केही पक्की र केही कच्ची घर बगाएको बताए । ‘एक्कासि बाढी आयो । पोहोर बाढी आए पनि यति ठूलो थिएन,’ उनले भने । उनका अनुसार बाढीले सबैजसो सडकमा सवारी गुडाउन नमिल्ने गरी क्षति पुर्याएको छ ।
गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले दोर्दीखोला आसपासका डेढ सय घर उच्च जोखिममा रहेको बताए । ‘बाढीपहिरोले घर, खेतबारी, विद्युत्को पोल, खेलमैदान बगाएको छ । हामी त्यता जाँदै छौं,’ उनले भने । उच्च जोखिममा रहेकालाई नजिकै स्कुलमा राखिएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइाटेलले हिलेबजारमा राहतको लिएर जाने तयारी भइरहेको बतसाए । ‘गाडी लिएर जाने अवस्था छैन । बाटो सबै बगाएको छ । हामी उपाय खोजिरहेका छौं,’ उनले भने ।
उनका अनुसार राहत सामग्रीलाई उदीपुरस्थित नेपाली सेनाको श्रीजंग गणमा पुर्याउने र त्यहाँबाट सेनाले पारी चितीतर्फ ट्याक्टर झिकाएर लैजाने प्रयास भइरहेको छ ।