१६ असार,काठमाडौँ — नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरेर माओवादी केन्द्रसँग एकता हुनुअघिका पदाधिकारीहरूसहितको केन्द्रीय कमिटीमा फर्कने औपचारिक निर्णय गर्ने भएको छ ।
एमाले स्थायी कमिटीको मंगलबार बसेको बैठकले २०७५ जेठ ३ मा माओवादी केन्द्रसँग पार्टी एकता हुनुअघिको केन्द्रीय कमिटीलाई ब्युँताउने निर्णय गरेको थियो । सोही निर्णयलाई महाधिवेशन आयोजक कमिटीले अनुमोदन गर्ने भएको छ ।
बैठकमा झलनाथ खनाल–माधवकुमार नेपालपक्ष भने सहभागी छैन ।
एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी २ सय ३ सदस्यीय हो । तर, माओवादीसँग एकता हुँदा जेठ ३ मा ३८ सदस्य थपेर केन्द्रीय कमिटी २ सय ४१ सदस्यीय बनाइएको थियो । सर्वोच्च अदालतले एकता भंग गरिदिएपछि फागुन २८ मा एमालेको संस्थापन पक्षले पूर्वमाओवादीका २३ जनालाई मनोनयन गर्दै केन्द्रीय कमिटी २ सय ६४ सदस्यीय बनाएको थियो । त्यसै दिनको बैठकले सोही केन्द्रीय कमिटीलाई दसौं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो ।
तर, महाधिवेशन आयोजक कमिटीको बैठकले गरेको कारबाहीमाथि प्रश्न उठाउँदै गत जेठ २७ गते कर्णालीका चार सांसदको पद सर्वोच्च अदालतले ब्युँताइदियो ।
महाधिवेशन आयोजक कमिटीलाई राजनीतिक दलसम्बन्धी ऐनलगायतका कुनै पनि कानुनले नचिन्ने व्याख्या अदालतले गरेपछि माओवादीसँग एकतापूर्वको केन्द्रीय कमिटी ब्युँताउनुपर्ने बाध्यात्मक अवस्था एमालेलाई सिर्जना भएको हो । ब्युँतिएको केन्द्रीय कमिटीको बैठक शुक्रबारका लागि बोलाइएको छ ।