
तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक वडाध्यक्षलाई पौडी पोखरीमा धकेल्ने प्रहरीलाई कारवाही गर्न एमालेले माग गरेको छ । आइतबार तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाणले गणपुरक संख्या नपुगेको भन्दै नगर सभा स्थगित गरेका थिए । नगरसभा स्थगित गरेको विरोधमा एमालेले प्रदर्शन गरेको थियो । त्यस क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
उक्त घटनाको भर्त्सना गर्दै नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ । कारवाहीको माग गर्दै एमाले रुपन्देहीले आज जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले कांग्रेसबाट निर्वाचित नगर प्रमुख रामकृष्ण खांणसंग मिलेर गणपूरक संख्या पुग्न नदिन कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको हस्ताक्षर गराउने र एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई हस्ताक्षर गर्न नदिएको एमालेको आरोप छ।
नगरसभामा एमालेका ४८ जना जनप्रतिनिधि उपस्थित भएपनि ४२ जनाले हस्ताक्षर गरेपछि माइन्यूट लुकाइएको र कांग्रेसका जनप्रतिनिधि उपस्थित भएर पनि उपस्थिति नगराई मेयरको मात्र हस्ताक्षर गराई फर्जी हिसाबले गणपुरक नपुगेको देखाएर नगरसभा स्थगित गरिएको एमालेको आरोप छ ।वडाध्यक्ष क्षेत्रीले डीएसपी केसीले आफूहरुमाथि अभद्र व्यवहार र अन्याय भएको भन्दै उनीमाथि कारवाही हुनुपर्ने माग गरे।
गत असार १० गते प्रस्तुत गरिएको तिलोत्तमा नगरपालिकाको बजेट कांग्रेस र एमालेको विवादका कारण पारित हुन सकेको छैन।
प्रतिकृया दिनुहोस्