राजधानीमै अन्धविश्वासकाे पराकाष्टा ,उपचारका नाममा माताको टहरोभित्र त्रिशुल रोपेर बालिकाको हत्या
  • हजुरकाे पाेष्ट

  • २५ पुस, काठमाण्डाै । तान्त्रिक विधिबाट उपचार गर्ने भन्दै एक बालिकालाई कथित माताले त्रिशुल रोपेर हत्या गरेकी छन् । देशको राजधानी काठमाडौंमै यो घटना भएको हो ।

    सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भइ हाल मध्यपुर ठिमी नगरपालिका–७ धुन्चेपाखा बस्दै आएकी राधिका श्रेष्ठकी १४ वर्षीया छोरी रोशनीको हत्या भएको हो । लामो समयदेखि हातखुट्टा नचल्ने, शरीर काम्ने लगायतका शारीरिक र मानसिक समस्या भएपछि बालिकालाई माताकहाँ पुर्‍याइएको थियो ।

    काठमाडौ रानीवनमा रहेकी माता उर्मिला तामाङ शाहीको टहरोमा उनलाई उपचारका लागि राखिएको आफन्तले बताएका छन् । तान्त्रिक उपचारका क्रममा माताले आफुलाई दैवी शक्ति, प्राप्त भएको भन्दै आफैसँग रहेको त्रिशुलले बालिकाको शरिरका विभिन्न भागमा अन्धाधुन्ध प्रहार गरेको पाइएको छ ।

    त्रिशुलले बालिकाको तिघ्रा, खुट्टा लगायत शरीरका विभिन्न भागमा प्वाल नै परेको आफन्तहरुले जानकारी दिएका छन् । उपचारको नाममा माता बस्दै आएको टहरोभित्र लगेर निर्ममतापूर्वक कुटपिट भएको छिमेकीहरु बताउँछन् ।

    २०७२ को भुकम्पपछि बालिकामा हातखुट्टा नचल्ने, काम्ने, छोप्ने लगायतका समास्या देखिन थालेको थियो । आफन्तको सल्लाहमा माताकोमा लगिएको बालिकाका सानोबुबा दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए । माता बस्दै आएको स्थान टाढा भएकाले माताको सल्लाहमा नै त्यहीँ राखिएको श्रेष्ठले जानकारी दिए ।

    झारफुकबाट उपचारका लागि बालिकालाई तीन सातादेखि माताको टहरोमा राखिएको थियो । लामो समयदेखि शारीरिक समस्या भएपछि आफन्तहरुको सल्लाहमा माताकोमा लगिएको श्रेष्ठले बताए । माताले बालिकाको शारिरमा ‘लागु’ रहेको र आफुले तान्त्रिक विधीबाट उपचार गरेर ठिक पार्ने आश्वासन दिएकी थिइन् । तर, झारफुकको नाममा बालिकालाई दैनिक कुटपिट गर्ने गरेको छिमेकीहरुले जानकारी दिएका छन् ।

    केही दिनदेखि आफूसँग भएकी बालिका बेहोस बनेको खबर माताले नै परिवारलाई गराएकी थिइन् । त्यसपछि शनिबार बिहान बालिकाको आमासहित केही आफन्त माताको टहरोमा पुगेका थिए ।

    ‘त्यहाँ पुग्दा माताले तिम्रो छोरी बोल्दै बोल्दिन भन्दै काखामा राखेकी थिइन्,’ श्रेष्ठले भने, ‘त्यहाँबाट हामीले उपचारको लागि मनमोहन अस्पताल लग्यौं । तर, तिन घण्टाअघि नै उनको मृत्यु भएको अस्पतालका चिकित्सकले बताए ।’

    मृतक बालिकाको बुबा रोजगारीको शिलसिलामा केही वर्षदेखि विदेशमा छन् । बालिकाको मृत्युपछि आफन्तहरुले महानगरीय प्रहरी प्रभाग स्वयम्भुमा जानकारी गराएपछि प्रहरीले माता र उनकोमा बस्दै आएका दुई पुरुषलाई नियन्त्रणमा लिएको छ ।

    बालिकाको शव पोष्टमार्ट गरिए पनि आफन्तहरुले शव बुझेका छैनन् । प्रहरीले माता र घटनामा संलग्नहरुलाई कानुन अनुसार कारवाही गर्ने सुनिश्चत नहुँदासम्म शव जिम्मा नलिने आफन्तको अडान छ ।

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech