विराटनगर । आगामी आर्थिक वर्षकोे बजेटमा प्रस्तुत मध्ये तीन क्षेत्रको करको दर समायोजन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका मोरङका उद्योगी र मजदुरले राज्यको नीतिका कारण नेपाल श्रीलंका भन्दा कमजोर हुने बताएका छन् ।
आन्तरिक राजस्व कार्यालय विराटनगरमा धर्ना दिने क्रममा शुक्रबार मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राज्यले नीति नसच्याए देशको अर्थ व्यवस्था श्रीलंका भन्दा कमजोर हुने बताए ।
स्यानेटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित स्टील उद्योगको संरक्षणको माग गर्दै बिहीबार यता मोरङका उद्योगी व्यावयासी र मजदुरहरु आन्दोलनमा छन् । उनीहरुले स्वदेशी उद्योगको संरक्षण गर्न माग गरेका छन् ।
बजेट भाषणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले स्यानेटरी प्याडको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार महशुललाई ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरेका थिए । तयारी वस्तुमा १.५ प्रतिशत कायम गरे पनि कच्चा पदार्थमा साढे ७ प्रतिशत भन्सार महशुल कायम कायम गरिएको छ । सरकारको नीतिले स्यानिटरी उद्योग बन्द हुने उद्योगीको गुनासो छ ।