ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

पृथ्वि बचाउन ओजोन तह दिवस

सन्दर्भ : विश्व ओजोन तह बचाउ दिवस

  • शंकर प्रसाद भट्टराई

  •  

    संयुक्त राष्ट्र सङ्घले सन् १९९५ सेप्टेम्बर १६ देखि ओजन तह बचाउ दिवस मनाउने निर्णय लिएपछि हरेक वर्षको सेप्टेम्बर १६ मा संसारभर ओजोन तह बचाउ दिवस मनाउन शुरुआत भयो । पृथ्वीमा जलवायु परिवर्तन लगायत अन्य विविध मानवीय क्रियाकलापका कारण ओजोन तह क्षयिकरण हुन गई पृथ्वीमा परिरहेका विविध असरहरु बारे जनचेतना फैलाउने र न्यूनीकरण गर्ने उद्देश्य लिएर यो दिवस विश्व व्यापीरुपमा मनाउने गरिँदै आएको छ । यस कार्यक्रमले आम जनतालाई ओजोन तहको महत्त्व बुझ्न सहयोग गरेको पनि छ ।पृथ्वीको रक्षा कवचको रूपमा रहेको ओजोन तह क्षयिकरण हुनबाट जोगाउनको लागि सम्पूर्ण मानव जातिलाई ओजोन तहको महत्त्व बुझाउने र संरक्षणमा जागरुक बनाउनको लागि सामुहिक रूपमा प्रतिबद्ध बनाउने उद्देश्यले यो दिवस मनाउँदै आइएको हो ।

    परिचय
    अक्सिजन ग्यासका तीनवटा परमाणुहरु रासायनिक प्रतिक्रियाबाट संयोजन भएर ओजोन बनेको हुन्छ । यो ग्यास वायुमण्डलमा अत्यन्तै थोरै मात्रामा (०.०२) प्रतिशतमा पाइन्छ । यो पृथ्वीको वायुमण्डलको ३० हजार फिट अर्थात ९ हजार १ सय ४४ मिटर माथि निर्माण भएको विशेष तहलाई ओजोन तह भनिन्छ यसको गन्ध तीखो हुनुको साथै अत्यन्तै विषालु ग्यास हो ।
    पृथ्वीको वातावरणीय तहको करीब २० देखि ३० कि मि माथि रहेको ओजोनलाई रक्षा मण्डलको नामले चिनिन्छ । यसले सुर्यबाट आउने हानिकारक परावैजनी किरणहरुलाई छानेर शुद्ध प्रकाशका किरणहरुलाई पृथ्वीको सतहमा पठाउने काम गर्दछ । यसले ९९ प्रतीशत परावैजनीक सौर्य विकिरण सोसेर लिन्छ । जसले गर्दा त्यस्ता हानिकारक विकिरणहरु पृथ्वीसम्म आउन सक्दैनन् । यसोहुँदा पृथ्वीमा प्राणी र वनस्पतिहरुको जीवन प्रक्रिया सहज तरिकाले चल्न अनुकूल वातावरण शृजना हुन्छ ।

    ओजोन ग्यास सन् १७८५ मा वन म्यारले र सन् १८०१ मा कृक शैंकले खोज अनुसन्धान गरि पत्ता लगाएका थिए । यसरी अनुसन्धान गर्दैगर्दा दुवैको नतिजा उस्तै उस्तै आएको थियो । समय क्रममा अनुसन्धान गर्दै जाँदा सन् १८०४ मा शानबाइनले उक्त ग्यासलाई ओजोन नाम दिए । यसैगरी सन् १८६५ मा सोरेटले ओजोन ग्यासलाई अक्सिजनको एउटा रुप भएको बताएका थिए । यसको अणुसुत्र O3 हुन्छ ।
    वायुमण्डलमा भएको अक्सिजन ग्यासलाई सुर्यको विकिरणद्वारा विच्छेदन गराई अक्सिजन परमाणु (O) परिवर्तन हुन्छ । उक्त अक्सिजन परमाणु फेरि अक्सिजन (O2) सँग मिलेर ओजोन तह (O3) निर्माण हुन्छ । मानव जाति र वनस्पति जगतको सुरक्षाका लागि ओजोनको सुरक्षा गर्नु अत्यन्तै जरुरी छ ।

    ओजोन ग्यास विनासक ग्यासहरुको मात्रा बढ्दै जाँदा अन्टार्कटिका माथिको आकाशमा प्वाल परेको कुरा पनि हामीले सुनेकै छौं । सन् १९८० को दशकमा बेलायती वैज्ञानिकहरुले पहिलो पटक अन्टार्कटिका माथिको आकाशमा रहेको ओजोन तहमा प्वाल परेको तथ्य पहिलो पटक पत्ता लगाएका थिए । यो पनि ओजोन तह विनाश गर्ने ग्यासहरुको पृथ्वीमा वृद्धि हुनाको परिणाम हो । यस खालको घटनाले हाम्रो वातावरण प्रदुषित भएर विभिन्न समस्याहरुसँग जुध्नु पर्ने हुन्छ ।

    सन् १९९० देखि २०१२ सम्मको अवधिमा पृथ्वीको तापक्रम ०.८५ डिग्री सेल्सियसले बढेको तथ्य सार्वजनिक भएको छ । यदि यहि अनुपातमा तापक्रम वृद्धि हुँदै जाने हो भने सन् २०३० सम्म १.५ डिग्री सेल्सियससम्म बढ्न सक्ने र यो शताब्दीमा २ डिग्री सेल्सियस भन्दा माथि जान सक्ने संयुक्त राष्ट्र संघीय जलबायु परिवर्तन सम्बन्धि अन्तरसरकारी मन्चको अनुमान रहेको छ ।
    नेपालको तापक्रम पनि वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढीरहेको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार यस अघि नेपालको तापक्रम वृद्धिदर ०.०६ डिग्री सेल्सियस रहेको र पछिल्ला अध्ययनहरुले ०.०५६ डिग्री सेल्सियस देखाएको पाइन्छ । सन् १९८७ को सेप्टेम्बर १६ मा विश्वका २४ राष्ट्रहरुले ओजोनतह विनाश गर्ने हानिकारक तत्त्वहरुको उत्पादन कम गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । जसलाई मन्ट्रीओल प्रोटोकल नामले चिनिन्छ । यस प्रोटोकलको मुख्य उद्देश्य ओजोन तहलाई खियाउने हानिकारक रासायनिक पदार्थहरुको प्रयोगमा प्रतिबन्ध लगाउने भन्ने रहेको थियो । यसलाई संयुक्त राष्ट्रसंघका सबै १ सय ९७ सदस्य राष्ट्रले अनुमोदन गरेका छन ।

    नेपालले प्रतिवर्ष ०.१ प्रतिशत मात्र हरितगृह ग्यास उत्सर्जन गरेको छ भने जापान , अमेरिका, भारत, रुस, ब्राजिल , चीन जस्ता विकसित देशले ९५ प्रतिशत कार्बन उत्सर्जन गर्दछन । जसको प्रत्यक्ष असर साना तथा अल्पविकसित देशहरुले भोग्नु परेको छ ।

    ओजोनतह विनाशका कारणहरु
    मानिसहरूले उपभोगमा ल्याउने विभिन्न सामाग्रीहरुबाट निस्कने ९४ वटा रसायनले ओजोन तह विनाशमा मद्वत गर्दछ । त्यसमध्ये एउटा मुख्य रसायन क्लोरोफ्लोरो कार्वन हो जसमा सुर्यको किरण परेपछि क्लोरिनमा परिर्वन हुन्छ । क्लोरिनले ओजोनको अक्सिजनसँग प्रतिक्रया गरि ओजोन ग्यासलाइ घटाउने काम गर्दछ । क्लोरोफ्लोरो कार्वनको आयु १५० वर्ष हुन्छ । क्लोरोफ्लोरो कार्बनको अविष्कार थोमस मिजले सन् १९२८ मा गरेका हुन । वायुमण्डलमा जति धेरै मात्रामा क्लोरोफ्लोरो कार्बन भयो र ओजोन ग्याससँग प्रतिक्रया भयो त्यति नै बढि मात्रामा ओजन तहको नष्ट हुने प्रक्रियाले निरन्तरता पाउँछ । क्लोरोफ्लोरो कार्बन सन् १९७४ मा पृथ्वीको वायुमण्डलमा रहेको तथ्य पत्ता लागेको थियो ।

    क्लोरोफ्लोरो कार्बन बाहेक वायुमण्डलमा पाइने हाइड्रोक्साइड आयोन र नाइट्रीक अक्साइड जस्ता ग्याँसहरुले पनि ओजोन तह नष्ट गरिरहेका हुन्छ्न । यसैगरी विभिन्न यातायातका साधनहरुबाट निस्कने विषाक्त धुवाँ, विभिन्न कलकारखानाबाट निस्कने धुवाँ, एअर कण्डिसनर्सबाट निस्कने क्लोरोफ्लोरो कार्बन जस्ता ओजोनतह बिनासक ग्यासहरुको उत्सर्जन हुन्छ । हामीले शरीरमा हाल्ने बडी स्प्रे अत्तर , एरोसोल स्प्रे जस्ता सुगन्धात्मक पदार्थहरु पनि ओजोन तह विनास गर्ने कारक तत्त्वहरु पर्दछन ।

    कृषि उत्पादन बढाउन प्रयोग गरिने विभिन्न प्रकारका रासायनिक मल र किटनाशक औषधिहरु पनि ओजोन तहको बिनासका कारक तत्वहरु हुन । विभिन्न मागहरू राखेर सरकार विरुद्ध गरिने आन्दोलनमा जथाभावी जलाइने टायरहरु बाल्दा निस्कने कालो धुवाँले पनि ओजोन तहलाई असर पुर्याउँछ ।

    ओजोन तह विनासका असरहरु
    ओजोन तहको विनाशले भयो भने सुर्यबाट आउने प्रकाशका किरणहरुमा हानिकारक परावैजनी विकिरणहरु आउनाले छाला चिरिने, छालको क्यान्सर , आँखाको रोग , श्वासप्रश्वास सम्बन्धि रोग, मुटु रोग जस्ता रोगहरुको सिकार हुनु पर्ने, शरीर पोल्ने, जिवजन्तुको प्रजनन क्षमतामा पनि कमी ल्याउने , बोटविरुवाको वृद्धि विकासमा अवरुद्ध पुर्याउने , कृषि उत्पादनमा कमि आउन गै भोकमरी जस्ता समस्यासँग जुध्नु पर्ने , पृथ्वीको तापक्रम वृद्धि हुन गएर जलवायुमा परिवर्तन हुने , हिमालको हिउँ पग्लिएर समुन्द्र सतह नजिकैका बस्तीहरुमा डुवानमा पर्ने जस्ता समस्याहरु आउनुका साथै पारिस्थितिक प्रणाली असन्तुलन हुन्छ । यस्ता प्राकारका समस्याहरुको वृद्धि हुँदै जाँदा जिवहरुको जीवन शैलीमा ठूलो संकट आउने हुन्छ । यसरी समग्र रुपमा भन्नुपर्दा सम्पूर्ण प्राणी जगतको अस्तित्व रक्षा गर्नमा नै समस्या ल्याउने काम ओजोन तहको विनासले गर्दछ ।

    ओजोन तह संरक्षणका उपायहरु
    सम्पूर्ण मानव जाति र यस पृथ्वीमा रहेका जीवहरुको जीवन संरक्षणका लागि ओजोन तहको संरक्षण गर्नु विश्वभरका नागरिकको प्रमुख दायित्व हो । ओजोन तहको संरक्षणको मुख्य उपाय भनेको क्लोरोफ्लोरो कार्वन लगाएतका रसायनको उत्सर्जनमा प्रतिबन्ध गर्नु नै हो । त्यसका लागि विभिन्न मानवीय गतिविधिबाट निस्कने फोहोर मैलाको उचित व्यबस्थापन गरेर ओजोन तह विनाश गर्ने क्लोरोफ्लोरो कार्वन उत्पादनमा कमि ल्याउनु पर्छ । त्यसैगरि प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने पुनः प्रयोग र प्रशोधनमा जोड दिने तथा रासायनिक र किटनाशक औषधीको प्रयोगमा रोक लगाउने जस्ता कार्य गरेर पनि ओजोन तहको संरक्षण गर्न सकिन्छ । फ्रिज तथा एयरकन्डिसनको उत्पादनलाई ओजोन मैत्री बनाउने तर्फ ध्यान दिनुपर्छ ।

    विद्यालय तहको पाठ्यक्रममा ओजोन तहको महत्त्व , जलवायु परिवर्तन हुनका कारण र निराकरणका उपायहरु राखिएको भएतापनी हाम्रा विद्यार्थीहरुले त्यसको उद्देश्य अनुसार आफुलाई अग्रसर गराउन नसकेको जस्तो देखिएको हुँदा हाम्रा विद्यार्थीहरुलाई प्रशस्त जानकारी दिनुपर्छ । त्यसैगरि सवारीसाधन तथा विभिन्न कलकारखानाहरुबाट निस्कने धुलो धुवाँ नियन्त्रण गर्ने प्रविधिको प्रयोग, एयर कन्डिसन, मानिसले प्रयोग गर्ने बडी स्प्रे, स्प्रे एरोसोल जस्ता वस्तुहरुको प्रयोगमा न्यूनीकरण गर्ने वा सुरक्षीत प्रयोग गर्ने , आधुनिकताले निम्ताएको विलासी जीवनशैलीबाट मानिसहरु टाढा रहने, ओजोन तह विनाश गर्ने क्लोरोफ्लोरो कार्बन उत्पादन गर्ने कारखानाको रूपमा चिनिएका पारमाणविक भट्टीहरुको संचालन र नियन्त्रण उचित ढंगले गर्नु पर्छ ।विभिन्न माध्यमबाट उत्सर्जन हुने कार्वनको मात्रा सन्तुलनमा ल्याउनको वनजंगलको विकास र विस्तार गर्नु पर्छ । यसैगरी सिमसार क्षेत्र र नदीनालाहरुको संरक्षण गरेर पनि कार्बन उत्सर्जन घटाउन सकिन्छ ।विशेष किसिमको नितिगत व्यवस्था नै गरि कानुन निर्माण गरेर त्यसलाई कडाईका साथ लागु गर्नुपर्दछ । कानुन पालनाको निमित्त व्यापक जनचेतना फैलाउनुका साथै समय समयमा जनसहभागिता मुलक कार्यहरू गर्नुपर्ने हुन्छ । यस पृथ्वीमा रहेका सम्पूर्ण जीव जन्तुहरुको जिवनको रक्षा गरी सुरक्षित , स्वस्थ्य , सुन्दर , हराभरा विश्वको निर्माण गर्न ओजोन तहको संरक्षणमा सम्पूर्ण व्यक्तिहरु, संघ संस्थाहरु हातेमालो गरेर अगाडि बढेको खण्डमा ओजोन तहको संरक्षण गर्न सक्छौं । अन्यथा वातावरण बिग्रने क्रमले निरन्तरता पाउँदै जान्छ र मानव लगायत सम्पूर्ण जीवहरुको अस्तित्व संकटमा पर्छ ।

     – शंकर प्रसाद भट्टराई
                              चन्द्र मा वि चिदिका, अर्घाखाँची

  • ३१ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech