ब्रेकिङ
 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती
  • दुर्गा प्रसाद खनाल

  •  

     

    आगामी पाँच वर्षका लागि आफ्नो मताधिकार प्रयोग गरिसकेका छौं। हाम्रो एक मतले पक्कै राष्ट्रको भाग्य र भविष्य निर्धारण गर्नेछ । हाम्रो घर-आगनमा धेरै उमेदवार मत माग्न आएका थिए । पुराना र नयाँ दुवै किसिमका उमेदवारसँग हामी मतदाताले साक्षात्कार गरिसकेका छौं ।  विगतका चुनावका तुलनामा यसपटक राजनीतिक पार्टी र उमेदवारका बढी आलोचना भए,आवश्यक थियो ।

    भर्खरै सम्पन्न आम निर्वाचनमार्फत मतपेटिकामा अभिव्यक्त जनमतको अन्तिम गणना जारी छ । देशव्यापी रूपमा मतगणनाको अन्तिम मतपरिणाम आईरहदा जनताले विकल्पको खोजी गरिरहेको प्रष्ट हुन्छ । पुराना पार्टीहरूको गलत हर्कत तथा जनताप्रतिको अनुत्तरदायि राजनीतिले जनतामा पुराना राजनैतिक पार्टीहरूप्रति वितृष्णा बढ्दै गएको देखिन्छ ।

    संघीय चुनावको अन्तिम मत परिणाम आइरहदा पार्टी तथा दलका शीर्ष नेताले आफूलाई सरकार निर्माणमा व्यस्त बनाइरहेका छन् । देशको अबको राजनीति कुन दिशा तिर जाने हो त् अहिले नै भन्न सकिने अवस्था छैन ।

     

    स्थानीय निर्वाचन २०७९ को सन्देश :

    पुराना पात्र र प्रवृत्तिमा व्यापक पुनरावृत्ति भए पनि स्वतन्त्र उम्मेदवारहरूका विजयीले दल प्रति अविश्वास, राज्य शक्तिको अवैध दोहन गर्ने भ्रष्ट पुस्तालाई भूगोल र जातभात भन्दा माथि उठेर विस्थापित गरिनुपर्ने सङ्केत गरिसकेको थियो । स्थानीय तहमा गैर दलीय पद्धतिको चुनाव प्रणालीको उपादेयता तथा स्थानीय समस्या, सदाचार, विकासको प्रतिवद्धता  र नागरिकको एजेण्डा लिएर राजनीतिलाई सेवा बनाउनु पर्ने एवं राज्यको सांस्कृतिक धरोहरहरू, इतिहासको संरक्षण र राष्ट्र निमार्णको योगदानको सम्मान हुनुपर्ने धारणागत सन्देश दिएको छ ।

     

    अस्वीकृत गठबन्धन

    वर्तमान सत्ता गठबन्धन ले संविधान र प्रणालीलाई सत्ता हत्याउने साधनको रूपमा मात्र प्रयोग गरेको प्रष्ट हुन्छ । सत्ता गठबन्धन संविधानप्रति निष्ठावान् र इमान्दार देखिएन । संविधानको रक्षार्थ सत्ता गठबन्धन निर्माण भएको सत्तासीन नेताहरूको दावी सिद्धान्ततः आकर्षक लागे पनि व्यवहारमा खोक्रो र भ्रामक देखियो । चुनावी घोषणापत्रमा उल्लिखित प्रणालीगत र प्रणालीको संरचनागत परिवर्तनको प्रस्ताव यस तर्कको ज्वलन्त उदाहरण हो । तर विडम्बना संविधानको शिरमाथि बस्दै सत्ता गठबन्धनले निर्लज्ज रुपमा संविधानको संरक्षण गरिरहेको भ्रम फैलाइएको छ ।

    आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो । स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन बिना लोकतन्त्र सफल हुन सक्दैन । यस पटकको निर्वाचनमा ६१ प्रतिशत मतदाता मतदानमा सहभागी भएका छन् । यो विगतको निर्वाचनको भन्दा कम हो।  निर्वाचनको दिन मतदान स्थलमा जुन उत्साह देखिनुपर्थ्यो, त्यस्तो देखिएन । भिन्न राजनीतिक धार, विचार, दृष्टिकोण, पृष्ठभूमि भएका पार्टीको गठबन्धनले निर्वाचन अगाबै भन्ने गरेको ‘क्लिन-स्विप’ हान्न सकेनन ।

    लोकतान्त्रमा सार्वभौमसत्ता सम्पन्न जनताले आफूमा निहित रहेको सार्वभौम अधिकारको अभ्यास गर्न,सरकारलाई जनताप्रति जवाफदेही बनाउन, शान्तिपूर्ण तरिकाले सरकार  वा सत्ताको परिवतर्न गर्न एवं विवाद समाधान गर्न ताजा जनादेश प्राप्त गर्ने बाहेकको भाष्य हुदैन तर सत्तासिन पार्टीहरुले ‘अग्रगमन’ र ‘पश्चगमनको’ गठबन्धनले लादिएको भाष्य स्थापित गर्नखोजे । जुन गलत साबित भयो ।

     

    सङ्घीय निर्वाचन २०७९ को संदेश:

    सङ्घी निर्वाचन २०७९ को अन्तिम परिणाम आउने लाग्दा यसले दिएको संदेश भने स्पष्ट छ ‘विकल्पको खोजि’ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नया दल र युवा प्रतिनिधि निर्वाचि हुने क्रम जारि छ भने  पुराना दलका प्रभावशाली प्रतिनिधि पराजित भैरहेका छन् । जनताले विकल्पलाई निर्वाचन मार्फत जनअनुमोदित गरिदिएका छन् । अब त्यो जनअनुमोदनलाई आगामी पाँच वर्षसम्म विश्वासमा लिएर काम गर्न सक्छन कि विगतमा जस्तै पुराना दलको जस्तो हविगत हुनेछ त्यो भने आगामी पाच वर्षे कार्यकालले देखाउने छ ।

    २०७४ को संघीय निर्वाचनमा भन्दा ६ प्रतिशत कम मतदान हुनुले निर्वाचन र दलीय राजनीतिप्रतिको वितृष्णाको सङ्केत यस  संघीय निर्वाचनले गरिसकेको थियो । कर्मचारी, सुरक्षा राष्ट्रसेवकहरू र कैदी एवं विदेशमा रहेका नेपालीहरूको मताधिकार तथा नो नट अगेन, नो भोट, राइट टु रिजेक्टको आवश्यकतालाई प्रबन्धकीय व्यवस्थापन सहित कार्यान्वयन हुनु पर्नेमा सशक्त अबाज उठेको छ ।

     

    आगामी चुनावमा ठूला दललाई चुनौती:

     

    यसअघिको स्थानीय तहको चुनावमा काठमाण्डू महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको जितले पुराना दलहरूलाई झस्काएको थियो । तर ती दलहरूले स्वतन्त्रले जिते पनि दल नै चाहिन्छ भन्ने ठुला दलको मनोगत  हिचकिचाहटले रास्वपा लाई भोट गएकोछ । काठमाडौं र धरानमा स्वतन्त्रले पाएको सफलता पछी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी दलका रूपमा आइसकेपछि र त्यसमा युवा मतदाताको आकर्षण देखिएकाले आगामी दिनमा ठूला दललाई अझै चुनौती हुने देखिन्छ ।

     

    दलहरूले विचार वा सिद्धान्त नै नमिल्नेसँग चुनावी तालमेल गर्नुले पनि जनतामा नैराश्यता बढायो र त्यसको प्रभाव निर्वाचनको परिणाममा  देखिएको छ । यसले दलहरूका लागि आउँदो चुनाव अझ चुनौतीपूर्ण हुने देखिएको छ ।

     

     

      #दुर्गा प्रसाद खनाल, नेपाल ल क्याम्पस।

         ([email protected])

  • १४ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech