हाम्रो घरको अघि मेरो डोली सजिदै गर्दा
राता र निला कपडाले डोली रङगीदै गर्दा
कहीँकतै त्यसको सुन्दरतामा अझ पनि फिक्का लाग्दैछ
सायद मेरो डोली तिम्रो हातले नसजिएरै होला
त्यो रंगहरूको रंगीबिरंगी डोली अझै पनि फिक्का लाग्दैछ ।।
मेरो जीवनको नयाँ सुरुवात हुने दिन
जीवनरूपी किताबको नयाँ पाना पल्टिने दिन
यस घरकी छोरी कसैकी बुहारी त कसैकी पत्नि बन्ने दिन
जनम घरलाई घर भन्ने मौका गुमाउने दिन
अनि तिम्रो प्यारी दिदी सोह्र शृंगारमा लत्पतिएर टाढीने दिन
मलाई फिक्का लाग्दै छ।।
मलाई मेरो प्यारो मान्छेको अभाव एकदमै फिक्का लाग्दैछ
तिमिले सधै पकडने मेरो कुमको पछ्यौरी आज घुम्टो बन्दै गर्दा
तिम्रो हात समाएर तिमीलाई ताते गराएका मेरा हातहरु रङ्गिदै गर्दा
तिमीलाई जति हेरेनी नअघाउने मेरा आँखाहरु आज टाढिदै गर्दा
हामीले खेल्ने आगनीमा तिम्रो र मेरो बाल्यकाल जलाइँदै गर्दा
मलाई साह्रै फिक्का लाग्दै छ ।।
मेरो अंश तिमी
मेरो मुटुको प्यारो टुक्रा तिमी
तिम्रो अभावमा आज फिक्का लाग्दैछ
त्यही भएरै होला बेलाबेला हावाका झोक्काहरुले तिम्रो यादका सुवासहरू मेरो सामु ल्याउँदैछ
तिमिलाई हेरेर कहिल्यै नथाक्ने मेरा आँखाबाट
तिम्रो माया आँसु बनी बग्दै गर्दा
फिक्का लाग्दै छ
मेरो आँसु पुछिदिने तिम्रा हात
र अनि मलाई सधै हसाईरहने तिम्रो अभाव
आज साह्रै फिक्का लाग्दै छ।
साह्रै फिक्का लाग्दै छ
जनम घर छाडी करम घर जाने दिन आज।।
-Jeevan Singh KC |