माघ १२रूपन्देही । देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच आज सम्झौता भएको छ ।
स्वास्थ्य वीमा गरेका नगरवासीलाई नगर अस्पतालबाटै वीमा वापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरु नगर अस्पतालबाटै उपलब्ध गराउन नगरपालिकाले सम्झौता गरेको हो ।
नगर प्रमुख ध्रुव खरेलसहितको टोली बिहीबार काठमाडौंस्थित बीमा बोर्डको कार्यालय पुगेर स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार सेवा प्रदान सम्बन्धी सम्झौता गरेको हो ।
नगरपालिकाले गत असोज १० गते १० शय्याको नगर अस्पताल सञ्चालनमा ल्याइसकेको छ । साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पूर्वाधार थपेर नगर अस्पताल सञ्चालन गरिएको हो ।आज भएको सम्झौताले देवदहवासिमा खुसियाली छाएको र चेकजाँच गर्न बुटवल धाउनुपर्ने समस्या टरेकाे र यसलाई ब्यबस्थित पार्ने काममा आफुहरूले विशेष ध्यान पुर्याउने देवदह नगरपालिकाका मेयर धुर्ब खरेलले बताउनुभयो ।