१८ माघ काठमाण्डौ । भारतले नेपाललाई दिने अनुदान सहायता घटाएको छ । वित्त मन्त्री निर्मला सीतारमणले बुधवार पेश गरेको बजेटमा भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरिएको हो ।
यस वर्ष भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु अनुदान सहायता दिने भएको छ । यो गत वर्षकोभन्दा २ अर्ब कम हो । गत वर्ष भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारु विनियोजन गरेको थियो ।
भुटान र माल्दिभ्सलाई बढाइयो अनुदान रकम
भारतले दिँदै आएको वैदेशिक अनुदानमा भुटान र माल्दिभ्सको रकम बढाइएको छ । यस वर्ष भारतले भुटानलाई २४ अर्ब भारु अनुदान सहायता दिने भएको छ । गत वर्षको बजेटमा भारतले भुटानका लागि अनुदान सहायतामा २२ अर्बभन्दा बढी रकम विनियोजन गरेको थियो । भुटानका लागि छुट्याइएको रकम भारतले यस वर्ष कुनै पनि देशलाई दिने रकममध्ये सर्वाधिक हो ।
यस्तै भारतले माल्दिभ्सलाई ४ अर्ब भारु अनुदान सहायता दिने भएको छ । गत वर्षको बजेटमा भारतले माल्दिभ्सका लागि अनुदान सहायतामा ३.६ अर्ब भारु विनियोजन गरेको थियो ।