फागुन ८ काठमाण्डाै । मौद्रिक नीतिको समीक्षापछि लगातार घटेर पाँचौं दिनमा नेप्से परिसूचक १३५ दशमलव ८२ अंक घटेर २ हजार ४६ दशमलव ८१ विन्दुमा ओर्लिएको छ ।
उक्त समीक्षामा शेयर बजारको विषय नसमेटिँदा बजार निरन्तर घटेको हो । यसो त पछिल्लो समय राजनीतिक अस्थिरता रहेको छ । विशेषगरी राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनका दलहरूबीच अविश्वास पैदा भएको छ ।
आगामी राष्ट्रपति कुन दलबाट हुने भन्ने निधो भइसकेको छैन । यी कारणले गर्दा पनि लगानीकर्ता निरुत्साहित भएको जानकारहरू बताउँछन् । यद्यपि लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत र प्राविधिक पक्ष राम्रोसँग केलाउनु जरुरी हुन्छ ।
साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक २३ दशमलव ६० अंक घटेर २ हजार ४६ दशमलव ८१ विन्दुमा झरेको छ । कारोबारमा आएका २५८ धितोपत्रको ६० लाख ९१ हजार ३५३ कित्ता ३८ हजार ४१५ पटकमा रू. १ अर्ब ९४ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।
सोमवार कारोबारमा आएका धितोपत्रमध्ये राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३७६ दशमलव २० पुगेको छ । त्यस्तै दोस्रोमा दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्य ४ दशमलव १७ प्रतिशत बढेर रू. ३१२ दशमलव ५० पुगेको हो ।
सोमवार सबैभन्दा बढी जीवन विकास लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव १८ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ४६३ कायम भएको छ । यस कम्पनीले गत वर्षभन्दा यस वर्ष कम लाभांश प्रस्ताव गरेसँगै विक्रेता हाबी भएका हुन् ।
कम्पनीले गत वर्ष कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष भने कुल ३७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसै शेयर मूल्य घट्ने दोस्रोमा उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ४२ प्रतिशत घटेर रू. २ हजार १६० मा कायम भएको छ ।
यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक शेयर खरीदविक्री रू. २० करोड ८२ लाख बराबरको भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ३९० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा साल्ट ट्रेडिङ कर्पोरेशनको रू. ११ करोड ४८ लाख बराबर कारोबार भएको छ ।
साेमवार म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ७९ प्रतिशत र व्यापार समूहको शून्य दशमलव ४० प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा बढी ३ दशमलव २० प्रतिशत घटेको छ ।