
भाेलि सरस्वती पूजा ! वसन्त पञ्चमी ,हिन्दूहरूकाे प्रचलनमा रहेको भए पनि सरस्वती पूजा पूर्णत: धार्मिक कार्य मात्र होइन, यो आध्यात्मिक-सांस्कृतिक विषय र भौतिक कार्य हो ।
‘परमेश्वर प्राप्ति, स्वर्ग प्राप्ति, जीवनमुक्ति वा मोक्ष’का भनेर सरस्वती पूजा गरिँदैन ।
मानिसले आफ्नो जीवनका बारेमा विभिन्न कुरा सोचिरहेको हुन्छ, यो सोचिरहने क्रम कहिल्यै सकिँदैन । यो चलिरहन्छ, निरन्तर चलिरहन्छ । यो सोच भन्ने कुरा मानिसको आन्तरिक-आत्मिक विषय हो । सोच्नका लागि गुरु, भगवान, मठ—मन्दिर, विधि, प्रक्रिया केही नभए पनि, केही नमाने पनि यसलाई छाेड्न मिल्दैन, साेचिरहन्छ, चिन्तन मनन गरिरहन्छ । यो काम मानिसले एक्लै, जहाँ र जतिखेरसुकै गरिरहन सक्दछ । त्यसै क्रममा मानिसले जीवनमा आवश्यक पर्ने, जीवनलाई उज्यालो पार्ने क्षमताहरू-सामर्थ्यका बारेमा सोचेर राम्रो नाम राख्यो— सरस्+वती (रसले युक्त भएकी)=सरस्वती ! जीवनलाई आवश्यक पर्ने ती रसहरूलाई सामर्थ्यमा जोडियाे र तिनलाई १२ सङ्ख्या पुर्यायो र सरस्वतीका १२ नाम राख्यो । त्यसैले यो अध्यात्म हो ।
ती १२ सामर्थ्य मानिसका मनमा मात्र रहेर हुँदैन, जीवनमा भौतिक रूपमै साक्षात्कार गर्नुपर्छ । ती १२ सामर्थ्य प्रयोगको क्षेत्र भौतिक जगत हो । ती सामर्थ्य सरस्वतीका नामका (विद्याबाट प्राप्त हुने वा हुनुपर्ने गुणका) रूपमा यस प्रकार छन् :
१.भारती— प्रकाशमा रमाउने, जसलाई उज्यालो रूचाउने ।
२.सरस्वती— रसयुक्ता, रस भनेको स्वाद, तरलता, रमाइलो ।
३.शारदादेवी— शरद ऋतुको आकाशजस्तो स्वच्छ र निर्मल ।
४.हंसवाहिनी — हाँसमा चढ्ने, हाँस भनेको पानीमा पनि नभिज्ने र राम्रो—नराम्रो/उपयोगी—अनुपयोगी आदि पर्गेल्न सक्ने क्षमताले युक्त ।
५.जगन्माता— संसारकी आमा, सिर्जनाको क्षमता राख्ने ।
६.वागीश्वरी— वाणी—बोलीले प्रभाव पार्नसक्ने क्षमता ।
७.कौमारी — पवित्रता, निष्कलङ्कता ।
८.वरदायिनी — अरूलाई पनि क्षमतावान बनाउन सक्ने क्षमता ।
९.सिद्धिदात्री — आँटेको काम सिद्ध गर्न र गराउन सक्ने ।
१०.ब्रह्मचारिणी — ब्रह्ममा विचरण गर्ने, शब्दको माध्यमबाट सबैतिर पुग्ने ।
११.चन्द्रघण्टा — उज्यालो, गतिशीलता र समयको प्रतीक ।
१२.भुवनेश्वरी — संसारकी सबैभन्दा ठूलो शक्ति ।
पढे—लेखेका मानिसमा माथि भनिएका गुण वा सामर्थ्य हुने भएको हुनाले विद्याका रूपमा सरस्वतीका गुणहरूको सम्मान गर्दै आफु पनि त्यस्तै हुन सकियोस् भनेर गरिने कामना तथा शुभकर्म नै सरस्वती पूजाको अन्तर्वस्तु हो । यो हाम्रो संस्कृति हो ।
-घनश्याम कोइराला
नेकपा (एमाले) केन्द्रिय स्कुल विभाग सचिव ।
प्रतिकृया दिनुहोस्