Web Design In Nepal

पर्यावरण संरक्षण गर्न बुटवलका टोल विकास संस्थाहरु एकजुट

चैत्र २९, २०८० बिहिबार 136

बुटवल । २९ चैत । बुटवल उपमहानगरपालिका र पर्यावरण संरक्षण समाज नेपाल, बुटवल रुपन्देहीको संयुक्त आयोजनामा बुटवल उपमहानगरपालिका क्षेत्रमा प्लाष्टिक र प्लाष्टिकजन्य फोहोरमैला व्यवस्थापन तथा पर्यावरण सचेतना अभिवृद्धि गर्ने उद्देश्यले “टोलविकास संस्थासंग पर्यावरण सचेतना तथा अभिमुखीकरण” कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवलमा प्लाष्टिकजन्य फोहोरमैला व्यवस्थापन तथा समग्र पर्यावरण संरक्षण गर्न नियामक निकाएले चाहेर मात्रै नहुने बताउँदै समग्र पक्ष सचेत हुनुपर्ने बताए । बिहीबार बुटवलमा आयोजित सो कार्यक्रममा प्रमुख पाण्डेले व्यक्तिव्यक्ति, टोलटोलबाट दिगो रुपमा सचेतना आवश्यक रहेको बताए जसका लागि नगरपालिका लागिपरेको उनको भनाइ छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश वन निर्देशनालयका निर्देशक दधिराम कँडेलले विश्वमा वन वातावरणको अवस्था र वर्तमान चुनौती साथै लुम्बिनी प्रदेश वन मन्त्रालयले गरेका गतिविधिबारे आफ्नो धारणा व्यक्त गरे।

कार्यक्रममा सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पाका अध्यक्ष दलबहादुर गुरुङले ‘वन र वातावरण’, बुटवल उपमहानगरपालिका सरसफाइ तथा फोहोरमैला व्यवस्थापन प्रमुख ठगिश्वर पोखरेलले ‘बुटवल उपमहानगरपालिकामा फोहोरमैला व्यवस्थापनको वर्तमान अवस्था र चुनौती’ विषयमा आफ्नो प्रस्तुति राखेका थिए। साथै लुम्बिनी दैनिकका सम्पादक शेर बहादुर के सी ले ‘पानी र पर्यावरण’ साथै पर्यावरण संरक्षण समाज नेपालका अध्यक्ष गङ्गा पोखरेलले ‘प्लाष्टिक र पर्यावरण’ विषयमा आ-आफ्नो प्रस्तुति राखेका थिए ।

सहभागीको तर्फबाट ज्ञानभूमी टोल विकास संस्थाकी सचिव रुकमिणी देवकोटाले कार्यक्रम प्रभावकारी भएको धेरै कुरा जान्ने अवसर प्राप्त भएको बताइन् साथै दुर्गा मन्दिर टोल बिकास संस्थाका अध्यक्ष तेजप्रसाद पराजुलीले पर्यावरण संरक्षण गर्न स्थानीय तहनै सक्रिय हुनुपर्ने बताउँदै कार्यक्रम प्रभावकारी भएको बताए । सहभागीहरुले पर्यावरण संरक्षण गर्न टोल विकास संस्थाहरुको एकजुट भएर लाग्ने बताए । कार्यक्रममा गिरी श्रीस तथा कृष्ण गाउँलेले पर्यावरण संरक्षणको महत्त्वबारे बोलेका थिए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्