
जेठ–१७, रूपन्देही
गुल्मेली सम्पर्क समाज रूपन्देहीले आफ्नो २१ औँ स्थापना दिवसकाे अवसरमा गुल्मी प्रभास स्मारिका लोकार्पण गरेको छ । समाजले आफ्नो स्थापना कालदेखि वर्तमान समयसम्म गरेका कामको गतिविधिसहित गुल्मेली भाषा, कला, साहित्य, पर्यटन, शिक्षा, इतिहास, धर्म, संस्कृति, आयुर्वेदलगायत विविध विषयवस्तुलाई समेटेर ३६६ पृष्ठको स्मारिका तयार गरेको हो ।
स्मारिकाको खण्ड ‘क’ मा गुल्मेली सम्पर्क समाज रूपन्देही र यस संस्थाको गुरुयोजनाअनुसार सञ्चालित श्री शृङ्गेश्वर धाम, ज्येष्ठ नागरिक मिलनकेन्द्र, रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा संरक्षकत्व प्रदान गरेको छोरी शिक्षा कार्यक्रम एवम् समाजको भैरहवा शाखाको परिचय तथा गतिविधिलाई समेटिएको छ ।स्मारिकाको खण्ड ‘ख’ मा गुल्मीसँग सम्बन्धित लेखहरू समावेश छन् । त्यसैगरी खण्ड ‘घ’ मा कविता, गीत, गजल, कथा, मुक्तक, लघुकथा आदि समावेश गरिएका छन् ।
खण्ड ‘ङ’ मा समाजका आजीवन सदस्यहरूको नामावली र समाजसँग सम्बन्धित गतिविधिलाई दृश्यमा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि ब्रह्मनिष्ठ शन्त शिरोमणि श्री लोकानन्द स्वामीले समाजले सामाजिक र धार्मिक क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।
विशिष्ट अतिथि रेसुङ्गा नगरपालिकाका प्रमखु खिलध्वज पन्थीले समाजकाे काम सराहनीय रहेको बताउनुभयो ।
विशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य विष्णु सापकोटा लगायतले गुल्मेली सम्पर्क समाजले गरेको कामको प्रशंसा गरि उत्कृष्ट कामकाे लागि बधाई दिनुभएको थियोे ।
कार्यक्रम समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थको अध्यक्षता, उपाध्यक्ष कृष्णप्रसाद भण्डारीको स्वागत, तथा महासचिव कृष्णप्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न भयो ।
प्रतिकृया दिनुहोस्