भदौ,१०
बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले सोमबार बुटवलमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज तथा सोमबार परेको श्रीकृष्ण जन्माष्टमीको अवसरमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न गरेको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरका उप प्रमुख सावित्रादेवी अर्यालले मौतिक तीज गीतको संरक्षण गर्दै पछिल्लो समय देखिएका विकृतिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइन् । नेपाली समाज धर्म, सँस्कृति र सम्पराले सम्पन्न रहेको बताउँदै अर्यालले त्यसको संरक्षणका लागि नयाँ पुस्ताले पनि अग्रसर हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा प्रतिष्ठान रुपन्देहीका संरक्षक खेमबहादुर हमालले नेपाली समाजको पहिचान जोगाउनका लागि प्रतिष्ठानले ठूलो भूमिका खेल्दै आएको बताए ।
प्रतियोगितामा होराइजन जीबीएस प्रथम, इन्टेलेक्चुअल एकेडेमी दोस्रो तथा एभरेष्ट बोर्डिङ स्कूल तेस्रो भए । विजेता समूहरुले क्रमशः प्रथम पुरस्कार १५ हजार ५ सय ५५, दोस्रो पुरस्कार १० हजार ५ सय ५५ र तेस्रो समूहले ५ हजार ५ सय ५५ रुपैयाँ नगद राशीसहित प्रमाणपत्र प्राप्त गरेका छन् । सान्त्वना हुन सफल न्यू होराइजन मावि र अक्सफाेर्ड मा विले २ हजार ५ सय ५५ रुपैयाँ नगद राशीसहित पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयबाट १० समुहको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्