Web Design In Nepal

मानव तस्करीमा जोडिएका नेकपा (एमाले) कोशीका सांसद लिलाबल्लभ अधिकारी पक्राउ

कार्तिक २५, २०८१ आइतबार 167

काठमाडौ /मानव तस्करी प्रकरणमा जोडिएका नेकपा (एमाले) कोशीका सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्। अधिकारीलाई पक्राउ गरी काठमाडौं ल्याइँदै छ।

अधिकारीलाई एमाले कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको सचिवालय बैठकले अनुमोदन गरेको थियो।

अधिकारीको विषयमा गम्भीर प्रश्न उठेको र त्यो प्रश्नको कानुनी निरूपण नभएसम्मका लागि कोशी प्रदेश कमिटीले उनलाई पार्टीका सबै जिम्मेवारी र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने निर्णय गरेको थियो।

अधिकारीमाथि लागेका आरोपहरूबारे बस्तुनिष्ठ, तथ्यपरक, गम्भीर छानबिनमा सरकारले गर्ने र त्यसमा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग हुने प्रतिबद्धता पनि सचिवालय बैठकले गरेको उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ थियो।

अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्‍याउन खोजेको आरोप छ। अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए।

तर त्यहाँको अध्यागमनले मन्त्री अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो।

डिपोर्ट भएपछि उनले नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका थिए।

जापानले डिपोर्ट गरेका तीन जना अहिले प्रहरी हिरासतमा छन्। उनीहरुको बयानका आधारमा प्रहरीले जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डे पनि सोही अभियोगमा पक्राउ परेका छन्।

पक्राउ परेकाहरूले आफूहरूले जापान जानका लागि १० देखि १३ लाख रूपैयाँसम्म बुझाएकाे प्रहरीलाई बताएका छन्।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्