Web Design In Nepal

होराइजन जिविएस पाँचौं जिल्लास्तरीय हाजिरीजवाफकाे उपाधि एभरेष्ट मा.विलाई।

मंग्सिर २१, २०८१ शुक्रबार 51

२१ मङ्सिर २०८१
होराइजन गौतम बुद्ध मा.वि.तिलोत्तमा १, ड्राइभरटोल, रूपन्देहीले पाँचौं जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
जिल्लाभरिका विद्यालयहरूसंग आत्मीय सम्बन्ध स्थापित गर्ने तथा ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यका साथ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको हो । उक्त प्रतियोगितामा होराइजन गौतम बुद्ध स्कुल संचालक समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूको अध्यक्षत तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्य रहेको थियो । यसैगरी उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा तिलोत्तमा न.पा. वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरी, प्याब्सन नेपालका सल्लाहकार तथा हिसान नेपालका केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्याय, अभिभावक संघका केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली , हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, प्याब्सन तिलोत्तमाका अध्यक्ष दीपक गौतम, बुटवल मोडेल कलेजका प्राचार्य नेत्रप्रसाद बस्याल, न्यु होराइजन मातृसंस्थाका उप–प्राचार्य बासुदेव अर्याल, न्यु होराइजन कलेजका सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद भुसाल, होराइजन जिविएसका उपप्राचार्य ज्ञानेश्वर ज्ञवाली, प्राध्यापक प्रदीप अर्याल, डा. तारानाथ भट्टराई, शैक्षिक संयोजक जीवनाथ भण्डारी, डा.मुरारि पराजुली, प्राध्यापक लक्ष्मण प्रसाद गौतम, प्रकाश घिमिरे, रुद्र भुसाल, विषय विभागीय प्रमुखहरु, शिक्षक, कर्मचारी, विद्यार्थी एवम् अभिभावकहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगिताका संयोजक, कृष्ण क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका प्राचार्य गोपालप्रसाद आचार्यले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै जिल्लाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबीच आत्मीय सम्बन्ध स्थापना गर्ने र विद्यार्थीमा अन्तरनिहित बौद्धिक क्षमताको प्रस्फुटन गराउने उद्देश्यका लागि विगत वर्षहरूदेखि नै जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिँदै आएको र यसले जिल्लाभरिमा रहेका सम्पूर्ण विद्यालयहरूलाई जोड्ने कडीका रूपमा काम गर्ने बताउनुभयो । प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले देशको समग्र शिक्षाको विकासमा संस्थागत विद्यालयहरूको ठूलो भूमिका रहेको र त्यसमध्ये होराइजन गौतम बुद्धको झन् प्रशंसनीय र उल्लेखनीय रहेको बताउनुभयो । मन्तव्यका क्रममा उहाँले निजी क्षेत्रबाट उत्पादित जनशक्तिले देशका विभिन्न उच्च निकायमा नेतृत्वकारी भूमिका खेलिरहेको बताउनु भयो । होराइजन गौतम बुद्ध स्कुलले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पु¥याएको बताउदै विद्यार्थीहरूका निम्ति यस किसिमको हाजिरीजवाफ प्रतियोगिता महत्वपूर्ण हुने भन्दै आगामी दिनमा यसको निरन्तरताको शुभकामना दिनुभयो । साथै उहाँले संस्थागत विद्यालयलाई निरुत्साहित गर्न नहुने भन्दै संस्थागत विद्यालयको भूमिकालाई नजर अन्दाज गर्न नमिल्ले आफ्नो धारणा राख्नुभयो ।

विशिष्ट आतिथिको मन्तव्य राख्दै प्याब्सन नेपालका सल्लाहकार, हिसान नेपालका केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्यायले विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ अत्यावश्यक रहेको कुरा बताउनुभयो । उहाँले हाजिरीजवाफ प्रतियोगिताको व्यवस्थापन उच्च प्रविधिमैत्री र अनुकरणीय रहेको भन्दै आगामी दिनमा पनि संस्थाले यस किसिमका बौद्धिक कार्यक्रमलाई निरन्तरता दिंदै जानुपर्ने कुरामा जोड दिनुभयो । यसैगरी तिलोत्तमा नगरपालिका वडा नं. १ का वडाध्यक्ष फर्सुराम गिरीले होराइजन गौतम बुद्ध मा.वि. यस क्षेत्रको गर्व गर्न लायक नेतृत्वदायी संस्था रहेको बताउँदै उहाँले हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीहरूमा रहेको प्रतिभालाई उजागर गर्न मद्दत गर्ने तथा भोलि गएर लोकसेवा आयोग तथा अन्य आयोगमा नाम निकाल्न पृष्ठभूमिको निर्माण गर्ने विचार व्यक्त गर्नुभयो ।

औपचारिक कार्यक्रमको सञ्चालन दिपक ज्ञवालीले गर्नुभएको थियो भने हाजिरी जवाफका विभिन्न चरणका कार्यक्रम ऋषिराम पौडेल, मोहन मरासिनी, भाष्करनाथ पाण्डेय, गोपालप्रसाद आचार्य, पुस्कर रायमाझी लगायतले गर्नुभएको थियो । प्राविधिक व्यवस्थापनका रुपमा प्राध्यापक माधव अर्यालको टिमले काम गरेको थियो ।
समुद्घाटन कार्यक्रमअन्तर्गत हाजिरी जवाफको हिट राउण्डमा ६० वटा विद्यालयहरूले सहभागिता जनाएका थिए जसअन्तर्गत ६ वटा विद्यालयहरू सुनगाभा पब्लिक स्कुल, ग्रिन प्लान्ट बोर्डिङ् सेकेन्डरी स्कुल, देवदह बुद्ध पब्लिक इ.बो.स्कुल,एभरेष्ट इ.बो.मा.वि.बुटवल, प्रभात इ.बो. सेकेन्डरी स्कुल,लिटिल बर्ड इङ्लिस स्कुल फाइनल चरणमा प्रवेश गरेका थिए ।

हाजिरीजवाफ प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेका विद्यालयबीचको प्रतिस्पर्धाबाट एभरेष्ट इ.बो.मा.वि.बुटवलले प्रथम स्थान, नव प्रभात इङ्लिस बोर्डिङ् सेकेन्डरी स्कुलले द्वितीय स्थान र ग्रिन प्लान्ट बोर्डिङ् सेकेन्डरी स्कुलले तृतीय स्थान तथा देबदह बुद्ध पब्लिक इङ्लिस बोर्डिङ् हाइ स्कुलले सान्त्वना स्थान हासिल गरेका थिए । प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना स्थान हासिल गर्न सफल विजयी समूहलाई क्रमशः रु २०,०००– शिल्ड तथा प्रमाण पत्र, द्वितीय स्थान हासिल गर्ने समूहलाई रु.१५,०००।– शिल्ड तथा प्रमाण पत्र, र तृतीय हुने समूहलाई रु.१०,०००।– शिल्ड तथा प्रमाण पत्र र सान्त्वना स्थान प्राप्त गर्ने दवै समूहलाई रु ३०००।– शिल्ड तथा प्रमाण पत्रले सम्मान गरिएको थियो । यसै गरी फाइनल राउन्डमा प्रवेश गर्न सफल सुनगाभा पब्लिक स्कुल र लिटिल बर्ड इङ्लिस स्कुललाई समेत सान्त्वना पुरस्कारको व्यवस्था गरिएको थियो । सहभागी सम्पूर्ण विद्यालयलाई मायाको चिनो तथा सहभागिताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि होराइजन गौतम बुद्ध मा.वि.का उपप्राचार्य इन्द्र भुसालको संयोजकत्वमा मूल समिति र विभिन्न उपसमिति बनाई कार्य सम्पादन गरिएको प्रशासकीय अधिकृत मुकुन्द भट्टराईले जानकारी गराउनुभयो । कार्यक्रमलाई रोचक बनाउन सांस्कृतिक टोलीबाट रोचक गीत तथा नृत्यहरू प्रस्तुत गरिएको थियो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्