बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा भैरहेको प्रतियोगिताको दोस्रो दिन विहीबार भएको पहिलो खेलमा आर्मीले गुजरात प्रदेश भलिबल एशोसियसन, भारतलाई ३–१ को सेटमा पराजित गरेको हो । आर्मीले खेलको पहिलो सेट २२-२५ ले हार्न पुगेको थियो ।
त्यसपछि दोस्रो सेट २९–२७ ले जित्दै आर्मी खेल फर्कियो । तेस्रो र चौथो सेट २५–२१ र २५–२२ ले जित्दै आर्मी पहिलो जित हात पार्न सफल भयो । नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका सरन सामारी, धनपति कुँवर, धनबहादुर भट्ट, दुर्गा महतो, दुर्गा बहादुर खड्कासहित मैदान उत्रेको आर्मीले भारतीय खेलाडीका सर्भिसलाई रिसिभ गर्न नसक्दा अंक धेरै गुमाउनु परेको थियो ।
पहिलो सेटमा सुरुवातबाटै पछाडी परेको आर्मीको टिम दोस्रो सेटको खेलमा भने पुनरागमन गर्दै जित हात पारेको थियो । निकै संघर्षपूर्ण खेलमा एक समय २३–१९ अंककासाथ जित नजिक पुगेको स्थितीमा लगातार अंक गुमाउन पुग्दा खेल खेल २९–२७ सम्म पुगेको थियो ।
खेलको तेस्रो सेटको सुरुवातमा आर्मीको प्रदर्शन निकै कमजोर रहेको थियो । जेहान मल्लीकको नेतृत्वमा रहेको गुजरातले खेलको सुरुवातबाटै अंक बटुल्दै ६–० ले अग्रता लिएको थियो । आर्मीका स्पाइकरलाई चल्न दिएका थिएनन तर आर्मीले पहिलो टाइम आउट लिएर मैदानमा उत्रेपछि खेलमा फर्कन सफल भयो । तेस्रो सेटमा धन बहादुर भट्ट र सरन सामरीको लगातारको सफल स्पाइक तथा गुजरातका ६ वटा सर्विसले नेट पार गर्न नसक्दा आर्मीले २५–२१ अंककासाथ जित निकाल्न सफल भयो । चौथो सेट २५–२२ मा आर्मीले जितेको थियो ।
आर्मीको दोस्रो खेल शनिबार गल्कोट भलिवल क्लबसँग हुने छ भने गुजरात शुक्रवार नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेल रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिवल क्लबकावीच हुने छ भने तेस्रो खेल नेपाल एपिएफ क्लब र गल्कोट भलिवल क्लबबीच हुनेछ ।
पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागीता रहेको छ । जसमा समुह एमा नेपाल पुलिस प्रहरी, मणिमुकुन्द भलिवल क्लब, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् भने समुह विमा नेपाल एपिएफ क्लब, नेपाल आर्मी, गल्कोट भलिवल क्लब, र गुजरात प्रदेश भलिवल एशोसियसन, भारत रहेका छन् ।
प्रतियोगिताको विजेताले सात लाख ५० हजार, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ७५ हजार र सान्त्वना हुने टोलीले एक लाख रुपैयाँ पाउनेछन् । यसैगरि प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु. २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले रु. १० हजार प्राप्त गर्ने छन् ।
प्रतिकृया दिनुहोस्