
माघ ३०, काठमाडौ – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई करोडौँ असुल्ने गिरोहसँग साँठगाँठ गरेको आरोप लागेका तत्कालिन गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँण बाहिरै बसेर मुद्दा पुर्पक्ष गरिरहेका छन् । उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्व जोडिएको यस प्रकरणका अर्का पात्र हुन्, एमाले नेता तथा सांसद टोपबहादुर रायमाझी । प्रत्यक्ष–अप्रत्यक्ष संलग्नता रहेको भनिएका खाँण अदालतको आदेशले जेलमुक्त हुँदा उनी भने केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।
माओवादीमा प्रचण्डपछि दोस्रो वरियताको नेता दावी गर्ने रायमाझी पटक–पटक मन्त्री र उपप्रधानमन्त्रीसम्म भए । आफूले रगत पसिना बगाएर बनाएको पार्टी त्यागी एमालेमा प्रवेश गरेका उनी अभियोग लागेसँगै पार्टी जिम्मेवारी र सांसद पदबाट निलम्बनको अवस्थामा छन् । प्रोस्टेट, उच्च रक्तचाप र मुटुसम्बन्धी समस्यासँग लडिरहेका उनी अन्य स्वास्थ्य समस्याबाट पनि पीडित छन् । यसै साता जेलभित्र जनआस्थासँग कुरा गर्दै उनले त्यसबेलाका विभागीय मन्त्री बालकृष्णले बाहिरबाटै मुद्दा लड्न सुविधा पाएको तर आफूले दुई वर्षदेखि अन्याय सहनुपरेको बताए । ‘बालकृष्णजी विभागीय मन्त्री भएकोले उनी कतिपय निर्णय प्रक्रियामा संलग्न भए होलान् । क्याबिनेटमा प्रस्ताव लगेका होलान् । अन्य किसिमका कागजमा सही पनि गरेका होलान्’, रायमाझीले भने, ‘तर म त त्यो विषयसँग सम्बन्धित नै थिइन । केवल एउटा फोटोका कारण मुद्दा लगाएर जेलमा पुर्याइयो ।’ लामो समयसम्म मुद्दा त्यसै थन्काएर आफूलाई थप पीडा दिने काम मात्र भएको उनको गुनासो छ ।
माओवादी छोडी एमालेमा प्रवेश गरेकै कारण राज्य सत्ताले आफूलाई झुटा मुद्दा लगाएर फसाएको रायमाझीको आरोप छ । जसरी नेपाली काँग्रेसको पहलमा खाँणलाई जेलबाहिरैबाट मुद्दा लड्ने सुविधा प्राप्त भयो त्यसैगरी उनको लागि एमालेले काँध नथापे पनि खुलेर चित्त दुखाउन भने हिच्किचाउँछन् । पार्टी नेतृत्वको आलोचना गरेमा अझै भित्रै ‘थन्काइदिने’ त्रासमा रहेका उनमा परिस्थिति बदलिने र बाहिर निस्कने झिनो आशा भने बाँकी नै छ ।
तत्कालीन नेकपाको एकता भंग गर्दै एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काउने सर्वोच्च अदालतको अनपेक्षित फैसलापछि रायमाझी माओवादी छोडेर तत्कालीन प्रधानमन्त्री केपी ओलीतिर लागेका थिए । त्यसवापत एमालेको सौराहा महाधिवेशनबाट सचिव पदमा छानिए । तर, जब भुटानी शरणार्थी प्रकरण सतहमा देखा पर्यो, घर न घाटको अवस्थामा पुगे । एमालेले पदबाट निलम्बन गरेर कित्ताकाट गरिदियो ।
बालकृष्णले जस्तै सुविधा पाउने उनको चाहना पूरा हुनेछाँट छैन । दुई वर्षदेखि मुद्दा एक इञ्च पनि अघि नबढेको भन्दै रायमाझीले यसलाई न्यायको बर्खिलाफ हो भनेका छन् । भन्छन्, ‘हामीले राज्यका प्रणाली परिवर्तन गर्यौँ । तर, सोच, संस्कार र न्याय सम्पादनको नाजुक स्थितिलाई फेरबदल गर्न सकेनौँ ।’
रायमाझी एमाले केन्द्रीय सचिव मात्रै नभई अर्घाखाँची जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसद पनि हुन् । ०७९ को आमचुनावमा तत्कालीन पाँच दलीय गठबन्धनका उम्मेदवार कांग्रेसकी चर्चित नेत्री पूर्वउपसभामुख पुष्पा भुसाललाई पराजित गर्दै सांसद निर्वाचित भएका थिए । आफू जेल परेपछि अर्घाखाँची जनप्रतिनिधिविहीन भएको र विकास निर्माणका काम ठप्प भएको उनको तर्क छ । जेलमा भेट्न आउनेमध्ये अधिकांश उनका मतदाता हुने गर्छन् । तर, एमाले नेता भने खासै नदेखिएको जेल प्रशासनले जानकारी दियो ।
नेकपा विभाजनपछि रायमाझीसँगै बादल, लेखराज, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, दावा लामालगायतले एमाले रोजेका थिए । तर, एमालेको ठूलोपंक्तिले भने यसलाई पूर्वमाओवादी खेमाका कारण आफ्नो भाग खोसिएको अर्थमा बुझेको पाइन्छ । जसका कारण धेरै एमालेजनले टोपबहादुरहरूलाई पद दिएको रुचाएका थिएनन् । उनको पक्षमा पार्टीभित्र माहोल नबन्नुमा यो पनि एउटा कारण हुनसक्छ ।
‘गणतन्त्रका लागि जनयुद्धसम्म लडियो, युद्धमा मारिन पनि सक्थेँ’, कुराकानीका क्रममा हल्का उत्तेजित हुँदै रायमाझीले भने, ‘अब योभन्दा बढी के नै गर्न सक्लान् र ! ज्यानै त लिँदैन होला, यहाँ कोचिएकै छु ।’ पूर्वउपप्रधानमन्त्री रायमाझीले जेलभित्रबाट खुइया गरे ।
समाचार राजकुमार राय
प्रतिकृया दिनुहोस्