
स्यालको भ्रम (लघुकथा)
एक घना जंगलको बीचमा एउटा लुखुरे स्याल बस्थ्यो। ऊ सानो छँदा नै आफ्नो चतुराइँका कारण बाँचेको थियो तर ऊ सँधै आफूलाई कमजोर महसुस गर्थ्यो। जंगलमा सिंहहरूको बथान राज गर्थ्यो, जसको गर्जनले सबै जनावरहरू थर्कमान हुन्थे। लुखुरे स्यालले सोच्यो, “यदि म सिंहजस्तै बन्न सकें भने मलाई पनि डराउने कोही हुँदैन।”
लुखुरे स्यालको मनमा सिंह बन्ने रहर जाग्यो। ऊ दिनभर सिंहहरूको हाउभाउ नियाल्न थाल्यो। सिंहहरू जस्तो हिँड्ने, उनीहरू जस्तै गर्जन निकाल्ने र उनीहरूकै जस्तै शिकार गर्ने सपना देख्न थाल्यो तर उसलाई यो थाहा थिएन कि सिंह बन्न केवल नक्कल गरेर हुँदैन, त्यसका लागि साहस, बल र जन्मजात गुण हुनुपर्छ।
एकदिन त्यस स्यालले आँट गरेर सिंहहरूको बथानमा जाने निर्णय गर्यो। ऊ आफूमा भएको आत्मविश्वास देखाउँदै सिंहको बथानतिर अघि बढ्यो। सिंहहरूले स्याललाई अचम्म मान्दै हेरे र त्यस बथानको एउटा सिंहले स्याललाई सोध्यो, “स्याल! तिमी यहाँ के गर्न आएको?” त्यसपछि त्यो स्यालले गर्वका साथ भन्यो, “म तिमीहरू जस्तै बन्न आएको हुँ। म पनि सिंह बन्न चाहन्छु।”
स्यालको कुराले सिंहहरूबीच हाँसोको लहर फैलायो । एक युवा सिंहले भन्यो, “स्यालले सिंह बन्न सक्दैन, यो त केवल सपना मात्र हो!” तर लुखुरे स्यालले हार मानेन। ऊ सिंहहरूकै साथमा हिँड्न थाल्यो, सिंहहरूकै जस्तो गर्जन निकाल्न खोज्यो तर उसको आवाज च्याँक्क च्याँक्क मात्र आयो। सिंहहरूले फेरि हाँसे। ऊ सिंहजस्तै हिँड्न खोज्थ्यो तर उसको चाल लटपटिन्थ्यो। ऊ शिकार गर्न जाँदा पनि असफल हुन्थ्यो। सिंहहरू छक्क पर्थे तर उसलाई सिधै लखेटेनन्। उसको क्षमता/शक्ति पत्ता लगाउन उसको परीक्षा गरिरहे ।
एकदिन, सिंहहरूको बथान भोकाएको थियो। एउटा बलियो भाले हरिण जंगलमा चरिरहेको थियो। बथानको प्रमुख सिंहले स्याललाई अवसर दियो, “यदि तिमी साँच्चै सिंह बन्न चाहन्छौ भने, त्यो हरिणलाई शिकार गर।” स्याल दङ्ग पर्यो। उसले धेरैबेर सोंच्यो, “यो मेरो परीक्षा हो। यदि मैले शिकार गर्न सकेँ भने म पनि सिंह साबित हुनेछु, जसरी भएपनि त्यो हरिणको शिकार गरेर छाड्छु!” उसले आफूमा भएभरको हिम्मत जुटाएर हरिणलाई झम्टियो तर उसको गति धीमा थियो, बल कम थियो, अनि उसको दाँत पनि सिंहको जस्तो तेज थिएन। हरिण सजिलै भाग्यो। यो देखेर सिंहहरू क्रोधित भए। यसैबीच
सिंहहरूको प्रमुख गर्जियो, “स्याल भाई ! तिम्रो नाटक धेरै भयो। न त तिमी सिंह हौ, न त तिमी आफ्नो जातिको इमानदार सदस्य। हामी तिमीलाई अरू बथानहरूमा झूटो सन्देश फैलाउन दिन सक्दैनौं!” सिंहहरू रिसले उन्मत्त भए। लुखुरे स्याल तर्सियो। ऊ जंगलतिर भाग्न खोज्यो तर सिंहहरू उसको पछिपछि लागे। अन्ततः सिंहहरूले उसलाई घेरिहाले।
स्यालले विन्ती गर्यो, “मलाई माफ गर्नुहोस ! म केवल सिंह बन्न चाहन्थें।” तत्कालै सिंह प्रमुखले जवाफ दियो, “सिंह जन्मजात सिंह बन्छ, नक्कल गरेर होइन। आफ्नो असली रूप स्वीकार्नु बुद्धिमानी हो।”
त्यसपछि, त्यहाँ भएका अन्य सिंहहरूले उसलाई आक्रमण गर्न खोज्दै थिए तर सिंहको प्रमुखले उसलाई आक्रमण गर्न दिएन, सम्झाइबुझाइ गरेर स्यालको बथानमै गएर बस्ने सल्लाह दिएरउसलाई पठायो । लुखुरे स्यालको सिंह बन्ने सपनाको यात्रा त्यहीँ समाप्त भयो।
सन्देश: कसैले पनि आफ्नो पहिचान भुल्नु हुँदैन। नक्कल गरेर कोही महान बन्दैन, बरु आफैंलाई अनिष्ट हुन्छ।
#साहित्यप्रेमी # लघुकथा # “वसन्त चाैहान”
प्रतिकृया दिनुहोस्