
प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न
ललितपुर, चैत १४ – प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) ले ऐतिहासिक १०औं राष्ट्रिय महाधिवेशन ललितपुरमा यहि चैत्र १२ र १३ गते भव्य रुपमा सम्पन्न गरेको छ। “गुणस्तरीय इन्जिनियरिङ सेवा र पूर्वाधार: समृद्ध राष्ट्र निर्माणको बलियो आधार” भन्ने मूल नारामा आयोजित उक्त महाधिवेशनको उद्घाटन सम्माननीय प्रधानमन्त्री एवम नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो। समारोहमा एमालेका उपाध्यक्ष गुरू बराल, स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पिनका ईन्चार्ज बैजनाथ चौधरी, नेकपा एमाले संगठन विभाग सचिव माधव ढुंगेल तथा नेकपा एमाले पार्टी अनुशासन आयोग सचिव प्रा. डा. भरतराज पहारी लगायतको उपस्थिति रहेको थियो ।
देश भरबाट सयौको संख्यामा उपस्थित प्रगतिशील इन्जिनियरहरुले डा. भेषराज थापाको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । कार्यसमितिमा उपाध्यक्षमा देउकाजी गुरुङ र सौम्या भट्ट , महासचिवमा राजन थापा, उप महासचिवमा ध्रुव भट्टराई तथा सचिवहरूमा बलराम पौडेल, प्रदीप नेपाल, हरि बराल र स्वाभिमान आचार्य निर्वाचित भएका छन्। साथै महाधिवेशनले लेखा आयोग, अनुशासन आयोग, निर्वाचन आयोग, र अध्ययन तथा अनुसन्धान आयोगको समेत गठन गरेको छ।
महाधिवेशनले विभिन्न क्षेत्रहरूमा प्राविधिक विकास र व्यवस्थापन सुधारका लागि महत्वपूर्ण नीतिगत निर्णयहरू समेत गरेको प्रचार–प्रसार सचिव ई. बलराम पौडेल द्वारा जारि प्रेस विज्ञप्तिमा जनाइएको छ ।
इन्जिनियरहरूको हकहित संरक्षण र व्यवस्थापन विकासलाई प्राथमिकता दिदै स्वदेशी प्रविधिको प्रवर्द्धन, सरकारी नीतिमा प्रभावकारी हस्तक्षेप, रोजगार सुरक्षा र न्यूनतम पारिश्रमिकको प्रत्याभूति सुनिश्चित गर्न तथा प्रत्येक प्रदेशमा पिनको शाखा विस्तार गर्ने निर्णय गरेको छ।
रात्ष्ट्रको दिगो विकासका लागि पूर्वाधार क्षेत्रको सुधारमा विशेष जोड दिएको छ। मेट्रो, मोनोरेल, केबलकार र टनेल मार्गका सम्भावित परियोजनाहरूको अध्ययन तथा प्रभावकारी कार्यान्वयनमा इन्जिनियरहरूको नेतृत्व सुनिश्चित गर्ने योजना अघि बढाइएको छ। राष्ट्रिय गौरवका परियोजनाहरूमा प्राविधिक विशेषज्ञता प्रयोग गर्दै गुणस्तरीय निर्माण कार्यमा सहयोग पुर्याउने उद्देश्य समेत लिएको बताईएको छ ।
इन्जिनियरहरूको व्यावसायिक मर्यादा र क्षमता अभिवृद्धिका लागि मासिक दुईवटा प्राविधिक सेमिनार आयोजना गर्ने, बेरोजगार इन्जिनियरहरूलाई लक्षित विशेष कार्यक्रम संचालन गर्ने र नेपाल इन्जिनियरिङ काउन्सिलसँग सहकार्य गर्ने निर्णय लिइएको छ। यसले इन्जिनियरहरूको सीप तथा दक्षता वृद्धि गर्ने अपेक्षा गरिएको छ।
युवा इन्जिनियरहरूको समावेशिता र सशक्तीकरणमा जोड दिइएको छ। इन्जिनियरिङ कलेजका विद्यार्थीहरूसँगको सम्पर्क विस्तार गर्दै व्यावसायिक परियोजनाहरूको माध्यमबाट उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउने योजना बनाइएको छ। नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न अनुदान, लगानी र सहयोगी वातावरण सिर्जना गर्ने पहल गर्ने निर्णय गर्दै दीर्घकालीन योजना निर्माण र रणनीतिक पहिचानमा जोड दिएको छ। पार्टी नीति निर्माणमा प्रविधि प्रवर्द्धनसम्बन्धी सुझावहरूलाई अंगीकार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रविधि आदान–प्रदानको पहल गर्ने, र नेपालका इन्जिनियरहरूको दक्षतालाई प्रतिस्पर्धी बनाउने लक्ष्य तय महाधिवेशनले गरेको छ।
प्रतिकृया दिनुहोस्