Web Design In Nepal

दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित ,तयारी पुरा नभएको अनुगमन समितिको दाबी

चैत्र ३०, २०८१ आइतबार 160

बुटवल, ३१ चैत। दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित समयलाई स्थगित भएको छ । प्रतियोगिताको तयारीको विषयमा निर्णय गर्न शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२२ औ बोर्ड बैठकको निर्णय सुनाउदै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता नहुने बताएका हुन् । राखेप उपाध्यक्ष तथा तथा प्रतियोगिता अनुगमन समितिका संयोजक ध्रुव आचार्यले बैठकमा खेलकुदमन्त्रीलाई प्रतियोगिताको विषयमा ध्यानाकर्षण गराएका थिए । प्रतियोगिता अनुगमन समितिले अध्ययन अनुगमन गरि १२ बुदे प्रतिवेदन पेश गर्दै प्रतियोगिता आयोजना गर्न अनुकुल हुने अवस्था नरहेको दाबी गरेको छ ।

खेलाडी उत्पादन, क्षमता वृद्धि तथा प्रोत्साहन गर्दै अन्तराष्ट्रिय स्तरमा खेलाडीलाई अवसरको बाटो खोल्ने रुपमा आयोजना हुदै आएको प्रतियोगिताको मुख्य स्थल सुर्खेत रंगशालाको भौतिक पूर्वाधार निमार्ण सम्पन्न नभएको, विधागत खेलस्थलहरुको बारेमा अझै टुगो नलागेको, खेलाडी छनौट, प्रदेशहरुबाट विवरण प्राप्त नभएको, कानुनी प्रकृया अनुसार खेल सामग्रीहरुको टेण्डर आव्हान गरेर प्रतियोगिता सम्पन्न गर्न सम्भव नदेखिएको, प्रतिकुल मौसमका कारण थप जटिलता, कतिपय खरिद तथा टेण्डर प्रकृया अघि विषयगत उपसमिति गठन नभएको, परिषदका कर्मचारीहरुबाट समेत प्रतियोगिता सम्पन्न गर्न संम्भव नभएको राय प्राप्त भएको लगायत अध्ययनबाट प्रतिवेदनमा उल्लेख भएको छ । नेपालको समग्र खेलकुदको विकासमा कोशेढुगाको रुपमा रहेको यो प्रतियोगिता पूर्ण तयारीका साथ ऐतिहासिक र ब्यवस्थित रुपमा गरिने अनुगमन समितिका संयोजक धुर्ब आचार्यले बताए ।

खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेपछि खेलकुदमन्त्री चौधरीले तीनपल्ट प्रतियोगिताको मिति सारिसकेका छन् । सुरुमा प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो । तर, सरकार परिवर्तन भएसँगै प्रतियोगिता अन्योलमा परेको थियो । त्यसपछि प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरिएको थियो । त्यसलाई पनि सारेर जेठ पहिलो सातामा पु¥याइएको थियो । पछिल्लोपटक सरकारले जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । अहिले फेरि स्थगन गरिएको हो ।

सरकारले प्रतियोगिताका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । कर्णाली प्रदेशले पहिलोपल्ट प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी लिएर झन्डै १ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी खर्च गरेर खेलकुद पूर्वाधार निर्माण गरिसकेको छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्