Web Design In Nepal

सुमित्रा थ्री डी आर्ट ग्यालरी’को उद्घाटन

बैसाख १८, २०८२ बिहिबार 38

सैनामैना (रुपन्देही), वैशाख १७ – ललितकलामा स्नातकोत्तर अध्ययन गरेकी तथा चित्रकलाप्रति समर्पित कलाकार सुमित्रा रानाले सैनामैना नगरपालिका–१ स्थित आफ्नो निवासमै स्थापना गरेको ‘सुमित्रा थ्री डी आर्ट ग्यालरी’को उद्घाटन भव्यरूपमा सम्पन्न भएको छ। उद्घाटन अवसरमा आयोजित चित्रकला कार्यशालामा २२ जना कलाकारले सहभागिता जनाएका थिए।

कार्यशालाको उद्घाटन प्राज्ञ बूँद रानाले विशेष समारोहबीच गर्दै, क्यानभासमै चित्र कोरेर गरे। सहभागी कलाकारहरूलाई व्यक्तिगत क्यानभास उपलब्ध गराइएपछि उनीहरू आ–आफ्नो सिर्जनामा तल्लीन भए। दिनभरको रचनात्मक अभ्यासपछि तयार भएका चित्रहरू ग्यालरीमै प्रदर्शित गरियो।

ग्यालरीकाे औपचारिक उद्घाटन लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष माननीय डा. डिल्लीराज अर्यालले गरे। उद्घाटन मन्तव्यमा उनले भने, “चित्रकला केवल दृश्यमाध्यम होइन, यो अनुभूतिहरूको मौन संवाद हो। यस्ता सिर्जनात्मक थलोहरू स्थानीयस्तरमै स्थापना हुनु समाजको सांस्कृतिक उन्नयनको मेरुदण्ड हो।” साथै, उनले लुम्बिनी प्रदेश सरकारले कला, साहित्य र संस्कृति प्रवर्द्धनका लागि नीतिगत तथा संस्थागत तहमा काम गरिरहेको उल्लेख गर्दै, “आगामी नीति तथा कार्यक्रममा सर्जकहरूलाई प्रोत्साहन गर्ने, सिर्जनशील प्रयासहरूलाई संस्थागत बनाउने र प्रदेशको सांस्कृतिक पहिचानलाई उजागर गर्ने प्रतिबद्धता लिएको छ,” स्पष्ट पारे।

कार्यक्रममा मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत तथा शिक्षा विज्ञ दलबहादुर गुरुङले शुभकामना मन्तव्य दिँदै कलाकार सुमित्राको पहललाई अनुकरणीय कदमको रूपमा मूल्याङ्कन गरे।

साँझपख सम्पन्न समापन सत्रमा साहित्यिक वातावरण सिर्जना गर्न कविता वाचन कार्यक्रम पनि आयोजना गरिएको थियो। साहित्यकार बूँद राना, दलबहादुर गुरुङ, पुरुषोत्तम पाण्डे, कृष्ण गाउँले, यज्ञलाल सुवेदी, दुर्गा थापा, छवि ज्ञवाली, सागर के.सी, जगिलाल थापा र सरला गाहाले आ–आफ्ना कविता प्रस्तुत गर्दै कलाकार सुमित्राको प्रयासप्रति बधाई तथा शुभकामना व्यक्त गरे।

सुमित्रा रानाले आफ्नै घरलाई ग्यालरीमा रूपान्तरण गर्दै कला प्रेमीहरूलाई एउटा साझा थलो प्रदान गर्नुका साथै स्थानीय कलाकारहरूको सिर्जनालाई उजागर गर्ने सार्थक प्रयास गरेकी छन्। उनले ग्यालरी स्थापना गर्नुको उद्देश्य कलाकारबीच आपसी संवाद, अभिव्यक्ति र प्रदर्शनको अवसर सिर्जना गर्नु रहेको बताउँदै, यस अभियानमा साथ दिने परिवार र आफन्तजनप्रति कृतज्ञता प्रकट गरिन्।

कार्यक्रमको अन्त्यमा कलाकार सुमित्रा रानाले सम्पूर्ण सहभागी कलाकारहरू, अतिथि वक्ताहरू, शुभेच्छुकहरू र आफ्नो परिवारलाई धन्यवाद दिँदै भनिन्, “म एक्लै थिएँ, तर आजको दिनले देखायो कि कला एक्लोपन होइन, सामूहिक भावना हो। तपाईंहरूको साथ, उत्साह र विश्वासले यो ग्यालरी सम्भव भएको हो।” उनले आगामी दिनहरूमा पनि ग्यालरीमार्फत कला प्रवर्द्धनमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्।

अन्त्यमा, स्थानीय तथा प्रदेश सरकारका प्रतिनिधिहरूले कलाकार सुमित्रा रानाको योगदानलाई सराहना गर्दै यस्ता सिर्जनात्मक प्रयासहरूलाई संरक्षण र प्रवर्द्धन गर्ने दिशामा सरकारको अभिभावकीय भूमिका रहने विश्वास व्यक्त गरे।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्