समयसँगै परिवर्तन स्वीकार गर्ने क्षमता कुनै पनि जीवित संस्था वा राजनीतिक शक्तिको आधारभूत गुण हो। जब कुनै संगठनले आफूभित्र भइरहेका संकेतहरू, असन्तुष्टि, र नयाँ पुस्ताबाट उठिरहेका प्रश्नहरूलाई सुन्न छोड्छ, त्यहाँ जडता विस्तारै संस्कारको रूपमा बस्न थाल्छ। अहिले नेकपा (एमाले) भित्र देखिएको मूल समस्या पनि यही हो—परिवर्तनलाई स्वीकार गर्न नसक्ने प्रवृत्ति। केन्द्रदेखि प्रदेश हुँदै जिल्ला तहसम्म फैलिएको नेतृत्वको एउटा संरचनात्मक नेक्सस छ, जसले आफूलाई स्थायी ठान्न थालेको छ। यो नेक्सस केवल शक्ति सन्तुलनको कुरा होइन, यो मानसिक संरचना हो, जसले आलोचनालाई असहज ठान्छ र नयाँ आवाजलाई अस्वीकार गर्छ। परिणामस्वरूप, पार्टि नेतृत्व संगठन र समयसँग संवाद गर्न असमर्थ बन्छ, र विस्तारै आफ्नै भित्री यथार्थबाट टाढा जान थाल्छ।
जडता भनेको केवल स्थिरता होइन, परिवर्तनप्रतिको अस्वीकार हो। जब नेतृत्वले नयाँ विचार, नयाँ प्रश्न, र नयाँ ऊर्जा लाई खतरा ठान्न थाल्छ, त्यहाँ सुधारको ढोका आफैं बन्द हुन्छ। समय सधैं गतिशील हुन्छ, र यथार्थसँग अद्यावधिक भइरहनु यसको अनिवार्य शर्त हो। तर जब कुनै संरचना आफूलाई पूर्ण ठान्न थाल्छ, त्यहाँ सिक्ने प्रक्रिया रोकिन्छ। यहीँबाट पतनको बीउ रोपिन्छ। कुनै पनि संगठन बाह्य आक्रमणले मात्र होइन, भित्रैको जडताले कमजोर हुन्छ। आजको चुनौती पनि यही हो—परिवर्तनलाई रोक्ने प्रयासले अन्ततः अस्तित्वलाई नै जोखिममा पार्दै छ ।
हालै संसदीय दलको नेताको चयन प्रक्रियाले यो जडतालाई अझ स्पष्ट बनाएको छ। यस्तो क्षणहरू संगठनका लागि केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया मात्र हुँदैनन्, ती आत्मसमिक्षा गर्ने, नयाँ दिशा निर्धारण गर्ने, र सन्तुलन खोज्ने अवसर पनि हुन्छन्। तर जब यस्तो अवसरलाई पनि पुरानै ढाँचालाई निरन्तरता दिन प्रयोग गरिन्छ, त्यसको सन्देश स्पष्ट हुन्छ—परिवर्तन प्राथमिकतामा छैन। अझ गम्भीर कुरा के छ भने, देशैभरि पार्टीभित्रका आम युवाहरूबाट उठेको असन्तुष्टि र विद्रोहको संकेतलाई समेत गम्भीर रूपमा नलिनु नेतृत्वको संवेदनशीलताको अभाव मात्र होइन, दूरदृष्टिको कमी पनि हो। युवा पुस्ता केवल कार्यकर्ता होइन, भविष्यको धार हो । यदि त्यो धारलाई नै कमजोर पारिन्छ भने, संगठनको भविष्य स्वतः कमजोर हुन्छ ।
यहाँ एउटा गहिरो मनोवैज्ञानिक पक्ष पनि छ , शक्ति जति लामो समयसम्म एउटै घेरामा केन्द्रित हुन्छ, त्यति नै आत्मसन्तुष्टि बढ्छ। आत्मसन्तुष्टिले आलोचनालाई अस्वीकार गर्छ, र अस्वीकारले यथार्थलाई ढाक्छ। जब नेतृत्व केवल आफूलाई अनुकूल सूचनाबाट घेरिन्छ, तब उसले वास्तविकता होइन, बनाइएको चित्र देख्न थाल्छ। यही अवस्था सबैभन्दा खतरनाक हुन्छ, किनकि यहाँ गल्ती देखिँदैन, र नदेखिएको गल्ती सुधारिँदैन।यस अवस्थालाई प्राचीन संस्कृत श्लोकले अत्यन्त सटीक रूपमा व्याख्या गरेको छ ।
“नमन्ति फलिनो वृक्षाः, नमन्ति गुणिनो जनाः।
शुष्कवृक्षाश्च मूर्खाश्च, न नमन्ति कदाचन॥”
फल लागेको वृक्ष झुक्छ, गुणी मानिस नम्र हुन्छ; तर सुख्खा वृक्ष र मूर्ख कहिल्यै झुक्दैनन्। यो श्लोक केवल नैतिक शिक्षा होइन, नेतृत्वको गुणस्तर मापन गर्ने दार्शनिक मानक हो। नम्रता भनेको कमजोरी होइन, सिक्ने क्षमता हो। जहाँ नम्रता हराउँछ, त्यहाँ सुधारको सम्भावना हराउँछ। आजको सन्दर्भमा हेर्दा, नेतृत्वमा देखिएको कठोरता र अडानले यही प्रश्न उठाउँछ—के यो दृढता हो, कि जडता? यदि अडानले यथार्थलाई अस्वीकार गर्छ भने, त्यो दृढता होइन, आत्मविनाशको सुरुवात हो।
अर्कोतर्फ, कार्यकर्ताहरूको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ। कुनै पनि पार्टीको वास्तविक शक्ति उसका कार्यकर्तामा हुन्छ। तर जब कार्यकर्ता नै आलोचनात्मक चेतनाबाट टाढा जान्छन् र केवल रक्षात्मक भूमिकामा सीमित हुन्छन्, तब संगठन भित्रबाट कमजोर हुन्छ। आफ्ना नेताको बचाउ गर्ने नाममा सडकमा उत्रेर हिंसा वा अव्यवस्था सिर्जना गर्नुले कुनै पनि हालतमा राजनीतिक परिपक्वता देखाउँदैन। यसले संस्थागत विश्वासलाई कमजोर बनाउँछ र लोकतान्त्रिक अभ्यासलाई क्षति पुर्याउँछ। कानुनी प्रक्रिया र संस्थागत मूल्यमा विश्वास गर्ने हो भने, त्यसको अभ्यास पनि त्यही अनुरूप हुनुपर्छ।
सरकारको भूमिकाबारे पनि समान रूपमा प्रश्न उठ्छ। सत्ता केवल अधिकार होइन, जिम्मेवारी हो। जब निर्णयहरू आवेग, पूर्वाग्रह वा प्रतिशोधको भावनाबाट प्रभावित हुन्छन्, तब त्यसको असर सिधै जनतामा पर्छ। सन्तुलित, संयमित र न्यायपूर्ण नेतृत्वको अभावले शासनप्रति विश्वास कमजोर बनाउँछ। त्यसैले सत्ता र प्रतिपक्ष दुवैमा परिपक्वता आवश्यक छ—एकले शक्ति प्रयोग गर्दा संयम देखाउनुपर्छ, अर्कोले विरोध गर्दा जिम्मेवारी।
यो सम्पूर्ण परिदृश्यले एउटा गहिरो सन्देश दिन्छ—यो अन्त्य होइन, चेतावनी हो। इतिहासले बारम्बार देखाएको छ कि कुनै पनि संगठन तबसम्म टिक्छ, जबसम्म उसले आफूलाई सुधार्ने क्षमता जोगाइराख्छ। आत्मसमिक्षा कुनै कमजोरी होइन, त्यो नै दीर्घकालीन शक्ति हो। यदि नेतृत्वले समयमै आफ्ना कमजोरीहरू स्वीकार गरेर सुधारको बाटो रोज्न सक्छ भने, परिवर्तन सम्भव छ। तर यदि जडता नै मार्गदर्शक बनिरह्यो भने, समयले विकल्प खोज्न ढिला गर्दैन र त्यो अहिलेको वास्तबिकता बन्छ ।
अन्ततः, नेतृत्वको वास्तविक परीक्षा शक्ति धारण गर्ने क्षमतामा होइन, सत्य स्वीकार गर्ने साहसमा हुन्छ। नम्रता, आत्मबोध, र सुधारको इच्छाशक्ति नै नेतृत्वलाई “मुखिया” बाट “मार्गदर्शक” बनाउने गुणहरू हुन्। यदि यी गुणहरू हराए भने, पद बाँकी रहला, प्रभाव पनि केही समय रहला, तर सार हराइसकेको हुन्छ। र जब सार हराउँछ, तब संगठन केवल स्वार्थी संरचना बन्छ ।
परिवर्तनलाई आत्मसात गर्ने युवाहरूका लागि अहिलेको समय मौन बस्ने होइन, स्पष्ट रूपमा बोल्ने समय हो। अन्याय, विकृति वा गलत अभ्यास देख्दा चुप लाग्नु भनेको महाभारतमा द्रौपदीको चीरहरण हुँदा मौन बसेका भीष्म, द्रोण, कर्णजस्तै हुनु हो,जससँग ज्ञान, क्षमता र प्रभाव त थियो, तर सत्यको पक्षमा उभिने साहस थिएन। इतिहासले देखायो, उनीहरूको मौनता नै अन्यायको सबैभन्दा ठूलो शक्ति बन्यो, र अन्ततः त्यही मौनताले उनीहरूलाई पनि पतनबाट जोगाउन सकेन। समाजमा उपद्रव गर्नेहरूभन्दा बढी क्षति तीबाट हुन्छ, जो सबै बुझेर पनि चुप बस्छन्। त्यसैले, आजको युवाले बुझ्नुपर्छ ,समयमै गलतविरुद्ध आवाज उठाउनु केवल व्यक्तिगत अभिव्यक्ति होइन, सामाजिक जिम्मेवारी हो। यदि आज पनि हामी मौन बस्यौं भने, भोलि सुधारको अवसर आफैं हराउनेछ, र इतिहास फेरि दोहोरिनेछ।





