३१ असौज,काठमाण्डौ — नेपालले सामोआलाई पराजित गर्दै आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको उपाधि हात पारेको छ।
ओमानको अल अमिरात मैदानमा शुक्रबार भएको अन्तिम खेलमा नेपालले सामोआलाई १२४ रनले हरायो। नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो। सामोआका सिन सोनियाले सर्वाधिक ४० रन योगदान दिए। नेपालका ललित राजवंशीले ३ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले १–१ विकेट हात पारे।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २११ रनको विशाल योगफल बनायो। ओपनर आसिफ शेखले ६९ रन र दीपेन्द्रसिंह ऐरीले ५३ रनको अर्धशतकीय पारी खेले। यो पारीसँगै आसिफले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो व्यक्तिगत उच्च स्कोर तोडेका छन्। यसअघि उनले वेस्ट इन्डिजविरुद्ध ६८ रन बनाएका थिए। लोकेश बमले ३९ र कप्तान रोहित पौडेलले २१ रन जोडे। सामोआका चारै बलरले १–१ विकेट लिए।
नेपालले प्रतियोगिताभर अपराजित रहँदै उपाधि जितेको हो। सुपर–सिक्स चरणमा नेपालले ५ खेलमा १० अंकसहित शीर्ष स्थान हासिल गर्यो। ओमान ८ अंकसहित दोस्रो र यूएई ६ अंकसहित तेस्रो स्थानमा रहे।
नेपाल, ओमान र यूएई सुपर–सिक्समा पुगेका थिए भने कतार, जापान र सामोआ प्रतियोगिताबाट बाहिरिए। यससँगै अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा सहभागी हुने सबै टोली तय भएका छन्।






