नेपाली काँग्रेसको वर्तमान आन्तरिक मतभेद र राष्ट्रिय राजनीति: ऐतिहासिक दृष्टिकोण र आगामी चुनौती

Shares

नेपाली काँग्रेस वर्तमानमा आन्तरिक मतभेद र गुटगत विवादको सामना गर्दैछ। यो विवाद केवल साधारण शक्ति संघर्ष वा राजनीतिक प्रतिस्पर्धा मात्र होइन। यो त्यस्तो समयमा सतहमा आएको छ, जब नेपाली राजनीति नयाँ पुस्ताको जागरण, गहिरो आर्थिक चुनौती र नजिकिँदो निर्वाचनको त्रिकोणीय दबाबको सामना गर्दैछ। नेपाली काँग्रेस कुनै साधारण राजनीतिक दल होइन; यो राणा शासनविरुद्धको संघर्षदेखि लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र राज्य पुनर्संरचनासम्मको लामो ऐतिहासिक यात्राको केन्द्रिय शक्ति हो। त्यसैले यसभित्रको संकट केवल पार्टीगत विषय नभई राष्ट्रिय राजनीतिसँग प्रत्यक्ष जोडिएको छ।

नेपाली काँग्रेसको इतिहासले एकता र फुटको महत्व स्पष्ट देखाउँछ। २००७ सालको परिवर्तनपछि पार्टी राष्ट्रिय शक्ति बनेको थियो, तर नेतृत्वबीचको मतभेद र आन्तरिक असमझदारीले पार्टीलाई पटक–पटक कमजोर पारेको थियो। २०१७ सालमा राजा महेन्द्रद्वारा प्रजातन्त्र अपहरणको घटनामा बाह्य शक्तिको भूमिका मात्र नभई पार्टीभित्रको कमजोरी र एकताको अभावले पनि ठूलो भूमिका खेलेको तथ्य ऐतिहासिक रूपमा प्रमाणित छ। पञ्चायती व्यवस्थाविरुद्धको लामो संघर्षपछि नेपाली काँग्रेस पुनः एकताबद्ध भयो, जसको परिणाम २०४६ सालको जनआन्दोलनको रूपमा आयो। यही एकता पार्टीको बल र लोकतन्त्रको पुनःस्थापनामा निर्णायक साबित भयो।

तर २०४६ पछिको कालखण्डमा पार्टी पुनः गुटगत राजनीतिमा फस्यो। नेतृत्व संघर्ष, सरकार टिकाउन नसक्ने प्रवृत्ति र आन्तरिक अविश्वासले पार्टीको विश्वसनीयता क्रमशः कमजोर बनायो। २०५९–६० को राजनीतिक संकटमा दल कमजोर हुँदा प्रत्यक्ष शासन र अस्थिरताको बाटो खुल्यो। यसले स्पष्ट देखायो कि पार्टीभित्रको फुटले राष्ट्रिय राजनीतिक स्थिरता कसरी प्रभावित हुन्छ। त्यसैगरी, २०६२/६३ को जनआन्दोलनमा काँग्रेस पुनः ऐतिहासिक जिम्मेवारीका साथ एकताबद्ध भयो, माओवादी र अन्य लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै निरंकुश शासनको अन्त्य गर्‍यो। संविधान निर्माणमा पार्टीको योगदान पनि यही ऐतिहासिक एकताको परिणाम थियो।

पछिल्ला वर्षहरूमा नेपाली काँग्रेस फेरि आन्तरिक विवाद, नेतृत्व प्रतिस्पर्धा र गुटगत समीकरणमा अल्झिरहेको देखिन्छ। अहिले विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षबीच देखिएको समानान्तर गतिविधि यही कमजोरीको निरन्तरता हो। यो विवाद त्यस्तो बेला चर्किएको छ, जब भदौ २३–२४ को Gen Z आन्दोलनले पुरानो राजनीतिक शैलीलाई खुला चुनौती दिएको छ। Gen Z आन्दोलन केवल एक दलविरुद्धको आक्रोश थिएन; यो पुरानो सोच, अपारदर्शी निर्णय प्रक्रिया, जवाफदेहीताको अभाव र गुटगत राजनीतिप्रतिको अस्वीकार थियो। यस आन्दोलनले नयाँ पुस्ताले परिणाम र जवाफदेहीता खोजिरहेको स्पष्ट संकेत दिएको छ।

यस्तो अवस्थामा पार्टीभित्रको विवादले नेपाली काँग्रेसलाई दोहोरो चुनौतीमा पार्न सक्छ। पहिलो, संगठनात्मक रूपमा कमजोरी आएर कार्यकर्ता र समर्थकलाई निराश पार्ने जोखिम छ। दोस्रो, युवा मतदाताको चेतना, जुन Gen Z आन्दोलनले उत्पन्न गरेको छ, पुरानो रोगबाट ग्रसित पार्टीप्रतिको असन्तुष्टिको संकेत दिन सक्छ। यी धारणा फागुन २१ को निर्वाचनमा प्रत्यक्ष असर पुर्‍याउन सक्छन्।

आर्थिक पुनरुत्थानको दृष्टिले पनि यही समस्या देखिन्छ। कोभिड–१९ महामारी, बेरोजगारी, पलायन र कमजोर उत्पादन संरचनाले देशको विकासलाई दबाबमा राखेको छ। यस्तो अवस्थामा जिम्मेवार र स्थिर राजनीतिक नेतृत्व अपरिहार्य छ। तर नेपाली काँग्रेस आन्तरिक शक्ति संघर्षमा अल्झिँदा यी राष्ट्रिय एजेन्डाहरू ओझेलमा पर्न सक्छन्। इतिहासले देखाएको छ—काँग्रेस कमजोर हुँदा नीति अस्थिर हुन्छ, र नीति अस्थिर हुँदा जनजीवन कष्टकर बन्छ।

सुशासन र जवाफदेहीताको प्रश्न झन् संवेदनशील छ। भ्रष्टाचार र अनियमितताका घटनाबीच बलियो प्रतिपक्ष र वैकल्पिक नेतृत्व आवश्यक छ। पार्टीभित्रको विभाजनले काँग्रेसको नैतिक बल कमजोर बनाउँछ र सरकारलाई खबरदारी गर्ने क्षमता घटाउँछ। यसले लोकतन्त्र औपचारिक अभ्यासमा सीमित हुने खतरा बढाउँछ।

लोकतान्त्रिक मूल्यमान्यताको दृष्टिले पनि आन्तरिक विवाद चिन्ताजनक छ। मतभेद स्वाभाविक हुन्, तर तिनलाई संस्थागत प्रक्रिया र विधानअनुसार समाधान गर्नु लोकतन्त्रको आधार हो। समानान्तर गतिविधि र शक्ति प्रदर्शनले पार्टीलाई विधि र पद्धतिबाट टाढा लैजान सक्छ। Gen Z आन्दोलनले विधि, पारदर्शिता र उत्तरदायित्वको माग गरिरहेको बेला यस्तो व्यवहार पार्टीको आलोचनाको केन्द्र बन्न सक्छ।

फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा इतिहासले दिएको पाठ सान्दर्भिक हुन्छ। नेपाली काँग्रेस फुट्दा कमजोर भयो, एकताबद्ध हुँदा निर्णायक शक्ति बन्यो। कम्युनिष्ट आन्दोलनको विभाजनले देखाएको तीतो यथार्थ र काँग्रेसको आफ्नै इतिहासले यही सन्देश दिन्छ—आन्तरिक कलहले जित होइन, घाटा मात्र दिन्छ।

अन्ततः नेपाली काँग्रेस आज इतिहासको अर्को मोडमा उभिएको छ। नेतृत्वले आत्मसंयम, संवाद र संस्थागत परिपक्वताको बाटो रोज्ने कि पुनः इतिहास दोहोर्‍याउने भन्ने निर्णय लिनुपर्नेछ। भदौ २३–२४ को Gen Z आन्दोलनले नेपाली राजनीतिलाई नयाँ चेतनातर्फ धकेलेको छ र फागुन २१ को निर्वाचनले यसको परीक्षा लिनेछ।

देशको ठूलो लोकतान्त्रिक पार्टी भएकाले नेपाली काँग्रेसले आफ्नो आन्तरिक मतभेदलाई संस्थागत प्रक्रिया र लोकतान्त्रिक संवादमार्फत समाधान गर्नु अत्यावश्यक छ। एकताबद्ध र जिम्मेवार नेतृत्वले पार्टीलाई बलियो राख्ने मात्र होइन, लोकतन्त्र, सुशासन, राष्ट्रिय हित र सामाजिक–आर्थिक स्थिरता सुनिश्चित गर्छ। विश्वास छ, पार्टीका तमाम साथीहरूले विवेकपूर्ण निर्णयमार्फत पार्टीलाई सुधार र सुदृढिकरणतर्फ लैजान सक्षम हुनेछन्।

संक्षेपमा, नेपाली काँग्रेसको बलियो एकता केवल पार्टीगत आवश्यकता होइन, नेपालको लोकतन्त्र र राष्ट्रको स्थिर विकासको अपरिहार्य आधार हो। पार्टी बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ, र लोकतन्त्र बलियो भए मात्र समाज र राष्ट्र स्थिर विकासको बाटोमा अघि बढ्छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.