हामी स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, लोकतान्त्रिक गणतन्त्र नेपालका नागरिक हौँ। आज हामीले भोगिरहेको राजनीतिक व्यवस्था नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानको परिणाम हो। वि.सं. २०६३ जेठ ४ पछि स्थापित यो व्यवस्था पनि कुनै दिन इतिहासकै कठघरामा उभिएर समीक्षा र मूल्याङ्कनको विषय बन्नेछ। तर त्योभन्दा अघि, हामीले आफ्नै इतिहासप्रति कति न्याय गरिरहेका छौँ भन्ने प्रश्न अझ महत्वपूर्ण छ।
नालापानी युद्धदेखि वैदेशिक हस्तक्षेपविरुद्धको प्रतिरोध, राणा शासनविरुद्धको आन्दोलन, शाही निरङ्कुशताविरुद्धका जनआन्दोलनहरू नेपाली इतिहासका गौरवशाली अध्याय हुन्। यिनै संघर्षहरूले नेपाली जनतालाई स्वतन्त्रता, अधिकार र स्वाभिमानको चेतनासम्म पुर्याएका हुन्।
राज्यको परिभाषा बदलिन सक्छ, शासन प्रणाली फेरिन सक्छ, तर राष्ट्रको पहिचानका आधार स्थिर हुन्छन्। राष्ट्रको पहिचान तीन मुख्य आधारमा उभिएको हुन्छ— प्रकृति, संस्कृति र इतिहास। हिमाल, पहाड, भित्रीमधेश र तराईले बनेको हाम्रो भूगोल प्रकृतिको परिचायक हो। भाषा, वेशभूषा, रहन–सहन, चाडपर्व र परम्पराहरू हाम्रो संस्कृति हुन्। र यी सबैलाई एउटै राजनीतिक पहिचानमा बाँध्ने तत्व भनेको इतिहास हो।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक समाज हो। हिमाली, पहाडी र तराई क्षेत्रका चाडपर्व, संस्कार र जीवनशैली फरक छन्। हिन्दु, बौद्ध, जैन, सिख, इस्लामलगायत विभिन्न धर्मावलम्बीहरूको सहअस्तित्व यही भूगोलमा सम्भव भयो। प्रश्न उठ्छ— यति विविधता हुँदाहुँदै पनि नेपाल कसरी एउटा राष्ट्र बन्यो? यसको उत्तर इतिहासमा छ, र त्यो इतिहासको केन्द्रमा पृथ्वीनारायण शाहको नाम आउँछ।
वि.सं. १८२५ अघि नेपाल २२से र २४से राज्यका रूपमा विभाजित थियो। ती टुक्राटुक्रा राज्यलाई एकीकृत गरेर आजको नेपाल निर्माण गर्ने ऐतिहासिक अगुवाइ पृथ्वीनारायण शाहले गरे। आज प्रशासनिक सुविधा र जनताको अधिकार सुनिश्चित गर्न संघीय संरचनाको बहस हुन सक्छ, तर एकीकृत नेपालको आधार भने हामीले विरासतकै रूपमा प्राप्त गरेका हौँ।
नेपाली जनताको प्रजातान्त्रिक राजनीतिक अधिकारका लागि संगठित संघर्ष भने पछि सुरु भयो। वि.सं. १९९३ मा टङ्कप्रसाद आचार्यको नेतृत्वमा नेपाल प्रजा परिषद् गठन हुँदै दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरी शर्मा र जीवराज शर्माले प्रजातन्त्रको बीउ रोपे। यस ऐतिहासिक कालखण्डभन्दा अघिको पृथ्वीनारायण शाहलाई पछिल्ला शाहवंशीय राजाहरूको निरङ्कुश शासनसँग जोडेर मूल्याङ्कन गर्नु ऐतिहासिक रूपमा अन्यायपूर्ण हुन्छ।
पृथ्वीनारायण शाह नेपाल राष्ट्र एकीकरणका नायक हुन्। तर उनको वंशका पछिल्ला राजाहरू— त्रिभुवनदेखि ज्ञानेन्द्रसम्म— ले निरङ्कुश, निर्दलीय शासन चलाएर जनताको अधिकार कुण्ठित गरे। पञ्चायती व्यवस्था महेन्द्रले संस्थागत गरे, वीरेन्द्रले निरन्तरता दिए र ज्ञानेन्द्रको शासन विवादास्पद रह्यो। तर यी सबै कालखण्डका दोष पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिकामाथि थोपर्नु इतिहासमाथिको अन्याय हो।
आज हिन्दु राष्ट्र वा संवैधानिक राजसंस्थाको पुनःस्थापनाजस्ता विषयहरू राजनीतिक दलका विचार र स्वार्थका विषय हुन सक्छन्। तर यस्ता बेमौसमी राजनीतिक एजेन्डासँग पृथ्वीनारायण शाहलाई जोड्नु इतिहासप्रतिको बेइमानी हुनेछ। उनी कुनै दल, कुनै शासन प्रणालीका प्रतीक होइनन्; उनी नेपाल राष्ट्र निर्माणका ऐतिहासिक अगुवा हुन्।
पृथ्वीनारायण शाहले एक्लैले नेपाल बनाएका होइनन्। बिसे नगर्ची, लखनसिंह थापालगायत अनगिन्ती नेपालीहरूको रगत र पसिनाले यो राष्ट्र बनेको हो। अगुवाको नाम इतिहासमा अगाडि आउँछ, तर त्यसको अर्थ योगदानकर्ताहरूलाई बिर्सनु होइन। जसरी टङ्कप्रसाद आचार्य, बीपी कोइराला, पुष्पलाल र मदन भण्डारीलाई आ–आफ्नो ऐतिहासिक योगदानका लागि सम्झिन्छौँ, त्यसरी नै राष्ट्रिय एकीकरणको सन्दर्भमा पृथ्वीनारायण शाहलाई सम्झिनु स्वाभाविक र आवश्यक हो।
इतिहास र संस्कृति कुनै बोझ होइनन्; ती राष्ट्रका शक्ति र पहिचान हुन्। इतिहासलाई सम्मान गर्नु भनेको कुनै शासन प्रणालीको वकालत गर्नु होइन, आफ्नो अस्तित्वको जरा चिन्नु हो।
नेपाल राष्ट्र एकीकरणका नायक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धाञ्जलि।
इतिहासलाई बिर्सेर भविष्य सुरक्षित हुँदैन।






