लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान

Shares

१३ भदौ, ललितपुर  । वरिष्ठ लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ। नेवाः साधना कला केन्द्रले उहाँको ९०औं जन्मदिनको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्मान गरेको हो।

कार्यक्रम ललितपुरको ज्यापु प्रज्ञा भवनमा सम्पन्न भएको थियो। आयोजकका पौभाः साय्मिका अनुसार नेपाली र नेपालभाषाको गीतसंगीतमा बेहोसीको जीवनभरको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेपालरत्न सम्मान दिइएको हो। यसअघि उहाँ ललितरत्न सम्मान र गणेशदेवी स्मृति पुरस्कारबाट समेत सम्मानित भइसकेका छन्।

बेहोसीले १२ वर्षको उमेरदेखि नै नाटक र संगीत क्षेत्रमा सक्रियता देखाउनुभएको हो। विक्रम संवत् २०१० सालदेखि नेपाली र नेपालभाषाको गीतसंगीतको श्रीवृद्धि, विकास र समृद्धिका लागि उहाँले निरन्तर योगदान गर्दै आउनुभएको छ।

उहाँले पहिलो पटक २०१३ सालमा रेडियो नेपालमा स्वर परीक्षण दिनुभयो र १७ जना उम्मेदवारमध्ये एकल गायकका रूपमा उत्तीर्ण हुनुभएको थियो। सोही दिन प्रत्यक्ष प्रसारणमार्फत उहाँको गीत रेडियो नेपालबाट प्रसारित भएको थियो। त्यतिबेला रेडियो नेपालमार्फत प्रत्यक्ष प्रसारणमा गीत गाउने दुर्लभ अवसर प्राप्त गर्ने गायकहरूमा उहाँ पनि हुनुहुन्थ्यो।

बेहोसीका समकालीन गायकहरूमा स्वर सम्राट नारायणगोपाल गुरुवाचार्य, प्रेमध्वज प्रधान, वरिष्ठ संगीतकार नातीकाजी श्रेष्ठ, शिवशंकर मानन्धर र भक्तराज आचार्य रहेका थिए। यी सबै नेपाली आधुनिक गीतसंगीतका दोस्रो पुस्ताका गायक मानिन्छन्।

बेहोसीले नेपालभाषामा करिब ५० वटा र नेपाली भाषामा कम्तीमा १० वटा गीत गाउनुभएको छ। उहाँले गाएका रचना तथा गीतहरू मध्ये दर्जनभन्दा बढी आज पनि क्यासेटमा सुरक्षित छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.