सरस्वतीका बाह्र रूपहरूको चर्चा गर्ने श्लोक पूर्वीय वाङ्मयको अत्यन्त गहिरो र अर्थपूर्ण प्रस्तुति हो। “प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती…” बाट सुरु हुने यो वन्दनामा सरस्वतीका बाह्र नाम र रूपको उल्लेख गरिएको छ। भारती, सरस्वती, शारदादेवी, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, सिद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी। यी बाह्र नाम केवल धार्मिक उपाधि मात्र होइनन्, यी भाषा, ज्ञान, शिक्षा र चेतनाका बाह्र आयाम हुन्। शास्त्रले भन्छ, यी नामलाई बिहान, दिउँसो र साँझ तीनै सन्ध्याकालमा श्रद्धापूर्वक पाठ गर्ने मानिसको जिब्रामा ब्रह्मस्वरूपा, अविनाशी सरस्वती वास गर्छिन्। यसको प्रत्यक्ष अर्थ चमत्कार होइन, वाणीमा निरन्तर अभ्यास, अनुशासन र चेतनाको विकास हो।
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती । तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी ।।
पञ्चमन्तु जगन्माता षष्ठं वागीश्वरी तथा । सप्तमञ्चैव कौमारी चाष्टमं वरदायिनी ।।
नवमं सिद्धिदात्री च दशमं ब्रह्मचारिणी । एकादश्यां चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः । जिह्वाग्रे वसति तस्य ब्रह्मरूपा सरस्वती ।।
यो सरस्वती वन्दना हाम्रो बाल्यकालसँग गहिरो रूपमा जोडिएको छ। हामी सानो हुँदा दुवै हात जोडेर, आँखा चिम्लेर, गुरु वा अभिभावकसँगै यस्तो स्तुति गर्थ्यौँ। त्यो बेला हामीलाई न श्लोकको व्याकरण थाहा थियो, न यसको दार्शनिक गहिराइ। तर अभ्यास थियो। समयसँगै जब अभ्याससँग अर्थ जोडिएन, तब अभ्यास कमजोर हुँदै गयो। अर्थ, भाव र उद्देश्य नबुझिँदा मानिस केवल अनुकरणमा सीमित हुन्छ, र अनुकरण लामो समय टिक्दैन। यसै कारण आज धेरै सांस्कृतिक अभ्यासहरू अन्धविश्वासजस्ता लाग्न थालेका छन्। समस्या परम्परामा होइन, बुझाइमा छ। त्यसैले भनिएको छ— जानेर गरे विज्ञान हुन्छ, नजानेर गरे अन्धविश्वास।
अब सरस्वतीका बाह्र रूपतर्फ फर्कँदा, भारती नाम भाषाको प्रकाश हो। ‘भा’ अर्थात् प्रकाश र ‘रती’ अर्थात् त्यसमा संलग्न देवी। भाषा नै मानिसको प्रमुख शक्ति हो। भाषाकै कारण मानिसले विचार निर्माण गर्छ, ज्ञान हस्तान्तरण गर्छ र सभ्यता विकास गर्छ। भाषिक उज्यालो बिना मानव समाज अन्धकारमै रहन्थ्यो। त्यसैले भारती देवीको पूजा भाषाको उज्यालोलाई सम्मान गर्नु हो।
सरस्वती नाम रसिलो भाषाको प्रतीक हो। ‘सरस्’ अर्थात् रसयुक्त र ‘वती’ अर्थात् भएकी। रस नभएको भाषा निर्जीव हुन्छ। रसयुक्त भाषा जीवन्त हुन्छ, प्रभावशाली हुन्छ। सरस्वती नदी जीवनको आधार भएझैँ रसिलो भाषा पनि सामाजिक जीवनको आधार हो। त्यसैले भाषाको सौन्दर्य र प्रभावका लागि सरस्वती देवीको आराधना गरिएको हो।
शारदादेवी शुद्धता र स्पष्टताको प्रतीक हुन्। शरद् पूर्णिमाको आकाशजस्तै सफा मन र उज्यालो चन्द्रमाजस्तै स्पष्ट भाषा। मन सफा भयो भने भाषा पनि सफा हुन्छ। लेख्य भाषा जति स्पष्ट र सरल हुन्छ, उति नै समाज शिक्षित हुन्छ। शारदा लिपिको अवधारणा पनि यही सोचबाट आएको हो। त्यसैले शारदादेवीको पूजा लेख्य भाषाको अनुशासनसँग जोडिएको छ।
हंसवाहिनी विवेकको प्रतीक हुन्। हाँसले दूध र पानी छुट्याउँछ भन्ने प्रतीकात्मक अर्थले भाषा प्रयोगमा विवेक आवश्यक छ भन्ने सन्देश दिन्छ। विवेकविहीन भाषा मानिसलाई समस्यामा पार्छ भने विवेकयुक्त भाषा मानिसको सुरक्षा कवच बन्छ। बोलीकै कारण मानिस राजा, समाज वा परिस्थितिको कोपभाजन बन्छ। त्यसैले हंसवाहिनी रूपको आराधना अत्यन्त व्यावहारिक चेतना हो।
जगन्माता रूपमा सरस्वती वाणीको विश्वव्यापी शक्तिको प्रतीक हुन्। बोलीले नै बिग्रिएको काम बन्न सक्छ। वाणीले नै सम्बन्ध जोडिन्छ र टुट्छ। संसार गतिशील छ, र यो गतिशीलतालाई बुझेर बोल्न सक्ने मानिस नै सफल हुन्छ। त्यसैले जगन्माता रूपले वाणीलाई संसार निर्माण गर्ने शक्तिका रूपमा स्वीकार्छ।
वागीश्वरी वाणीको ऐश्वर्य हुन्। वाणीमा दरिद्रता भयो भने मानिससँग भएको पनि गुम्छ। वाणी समृद्ध भयो भने मानिससँग नभएको पनि प्राप्त हुन्छ। समाजमा वाणीको सम्मान गर्ने संस्कार कमजोर हुँदै गएको आजको अवस्थामा वागीश्वरीको सन्देश झनै सान्दर्भिक देखिन्छ।
कौमारी पवित्रता र उदीयमान अवस्थाको प्रतीक हुन्। जीवनको प्रारम्भिक चरणमा पवित्र सोच र भाषाको विकास भयो भने भविष्य उज्ज्वल हुन्छ। यही कारणले कौमारी देवीको पूजा आनन्दमय र उन्नत जीवनको आकांक्षासँग जोडिएको छ।
वरदायिनी जीवनलाई वरदान बनाउने शक्ति हुन्। शिक्षित, विवेकी र नैतिक जीवन नै वास्तविक वरदान हो। भाषा र शिक्षाको सही प्रयोगले मानिसले आफ्नो जीवन अभिशापबाट वरदानमा रूपान्तरण गर्न सक्छ।
सिद्धिदात्री सफलता प्रदान गर्ने शक्ति हुन्। भाषामा सफलता पाएका मानिसले कर्ममा पनि सफलता पाउँछन्। विचारलाई प्रमाण र तर्कसहित प्रस्तुत गर्न सक्ने व्यक्ति नै समाजलाई नेतृत्व गर्न सक्छ। वाणीमा सिद्धि आएपछि जीवन सिद्ध हुन्छ।
ब्रह्मचारिणी अक्षर, वेद र ज्ञानको प्रतीक हुन्। लिखित भाषा नाश नहुने ज्ञान हो। मौखिक भाषा हराउन सक्छ, तर लिपिबद्ध विचार सभ्यताको आधार बन्छ। ब्रह्मचर्य संयम र अध्ययनको अवस्था हो। यही संयमित अध्ययनबाट ज्ञान प्राप्त हुन्छ भन्ने सन्देश ब्रह्मचारिणी रूपले दिन्छ।
चन्द्रघण्टा समय, सूचना र उज्यालोको प्रतीक हुन्। चन्द्रमाले शीतल उज्यालो दिन्छ, घण्टाले समय र सूचनाको संकेत गर्छ। समयअनुसार ज्ञान ग्रहण गर्न नसक्ने व्यक्ति पछाडि पर्छ। परिवर्तनशील संसारमा सूचित रहनु नै विद्वताको मापदण्ड हो।
भुवनेश्वरी भाषाको सार्वभौमिक शक्ति हुन्। भाषाबाटै आफू, समाज, देश र विश्व बुझिन्छ। पृथ्वीभित्रका भूगर्भदेखि अन्तरिक्षसम्मको ज्ञान भाषाकै माध्यमबाट सम्भव छ। भुवनेश्वरी रूपले भाषालाई सीमाविहीन शक्ति मानेको छ।
यसरी सरस्वतीका बाह्र नाम र रूप भाषा र शिक्षाका बाह्र आयाम हुन्। सरस्वतीको रूप मातृशक्ति हुनु संयोग होइन। जन्मनेबित्तिकैदेखि मानिस स्वावलम्बी नबन्दासम्म मातृशक्तिले नै उसलाई शिक्षित गर्छ। खान सिकाउने, सरसफाइ, नियम–अनुशासन, समाजको परिचय दिने सबै काम मातृशक्तिबाट सुरु हुन्छ। त्यसैले विद्यालयका प्रारम्भिक कक्षामा शिक्षिकाको भूमिका बढी देखिन्छ। हाम्रा पुर्खाले यही यथार्थ बुझेर सरस्वतीलाई मातृशक्तिका रूपमा पूजा गरेका हुन्।
यसको तात्पर्य स्पष्ट छ। मातृशक्तिले जुन उद्देश्यका साथ मानिसलाई शिक्षित गर्न निरन्तर प्रयास गर्छिन्, त्यसलाई नबिर्सने व्यक्ति ज्ञान र विवेकले सम्पन्न हुन्छ। त्यो ज्ञान नाशवान् हुँदैन। उसले समाजलाई उज्यालो दिन सक्छ। भाषा नै मानिसको सबैभन्दा ठूलो शक्ति हो। सरस्वतीको पूजा भनेको भाषाको पूजा हो। बाह्र रूपमार्फत भाषाको साधना गर्नु नै सरस्वतीको वास्तविक पूजा हो। सरस्वतीका रूपमा नारीशक्तिको पूजा गर्नुको सामाजिक औचित्य यहीँ स्पष्ट हुन्छ। उत्तर–आधुनिकतावादी चिन्तनमा भनिने “Word creates the world” भन्ने अवधारणाको गहिरो आधार पनि यही चेतनामा निहित छ।
लेखकःघनश्याम कोइराला






