शिव, पशुपति र महाशिवरात्रि पर्वको अन्तर्वस्तु

Shares

—घनश्याम कोइराला,
सनातन संस्कृतिका अनुयायीहरू र शैवहरूका लागि शिवरात्रि निकै ठूलो पर्व हो, यसलाई महापर्व पनि भन्ने गरिएको छ । शिव, शङ्कर, रुद्र, महादेव सबैलाई पशुपति पनि मान्ने गरिएको छ । त्यसैले महाशिवरात्रि र पशुपतिको सारभूत सम्बन्ध रहेको छ । कतिपयलाई यी सबैमा भिन्नता र एकरूपताको पक्षमा जानकारी नहुन पनि सक्दछ । हामीले हाम्रा धार्मिक, आध्यात्मिक, सांस्कृतिक पर्व, उत्सवहरू मनाउँदा तत्तत् देवीदेवता तथा स्थानहरूका विषयमा जानकारी राख्नु उचित हुन्छ । महाशिवरात्रि पर्वका अवसरमा शिव, पशुपति र शिवरात्रिबारे संक्षिप्त विमर्श गर्ने जमर्को गरिएको छ ।

शैवदर्शन, शैव संस्कृति, पाशुपत दर्शन र संस्कृतिको गम्भीरताका हिसाबले यो प्रस्तुति न्यूनतम मात्र हो । हाम्रो समाजमा धेरै पर्व, उत्सव, महोत्सव छन् । यी सबैले मानिसहरूलाई शान्ति, सन्तुष्टि र चेतना प्रवाह गर्दछन् । धेरैजसो आध्यात्मिक तथा लौकिक पर्वहरू दिन—दिवसका रूपमा मनाइन्छ । तर केही पर्वहरू छन्, जसलाई रात्रिमा मनाउने मात्र गँरिदैन, अपितु नाम नै ‘रात्रि’ छन् । यद्यपि, उत्सवको रमाइलोका कारण रात्रि हुनु, जागरण बसेर रात बिताउनु, दिउँसोमा समय अभावका कारण रात्रिमा आजा—पूजा, कथाश्रवण आदि भने गर्ने गरिन्छ । तर केही खास पर्वहरू रात्रिमा मात्र मनाउने गरिन्छ र तिनीहरूको नाम र प्रसंग नै रात्रिको रहेको छ । त्यस्ता पर्व हुन्ः कालरात्रि, सुखरात्रि र मोहरात्रि । नवदुर्गाको कालरात्रि, लक्ष्मीपूजाको सुखरात्रि, कृष्णजन्मको मोहरात्रि र शिव प्रकट भएको र कतिपयले शिवको विवाह भएको मानिएको महाशिवरात्रि ।

या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी ।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः।।
 अर्थात् जुन सम्पूर्ण प्राणीहरूको रात हुन्छ, त्यसमा संयमी जाग्दछ । जसमा सबै प्राणी जाग्दछन्, त्यसलाई मुनिहरू रात देख्दछन् । (श्रीमद्भगवद्गीता, अध्याय—२, श्लोक—६९) अलि घुमाउरो जस्तो लागे पनि तात्पर्य स्पष्ट छ । सर्वसाधारण प्राणीले अन्धकार ठानेको अवस्थालाई ज्ञानीजन तत्वचिन्तनमा लाग्दछन्, खोज अनुसन्धान, विचार निर्माणमा लाग्दछन्, पारिपट्टिको अवसर देख्दछन् । यसरी उनीहरू जागा हुन्छन् । जहाँ अन्य मानिसहरू लोभ, मोह, मद, मात्सर्य आदिमा रमाउँछन्, मुनिजन त्यसलाई रात—अन्धकार ठान्दछन् । यसरी हेर्दा शिवको नाममा मनाइने शिवरात्रिको अर्थ स्पष्ट हुन्छ ।

पुराणमासमेत “शिव”प्रसिद्ध वैदिक देवता हुन्  । २४ हजार श्लोक भएको शिवमहापुराण नै छ । शिवलाई कल्याणस्वरूप मानिएको छ । शिव कल्याणका—कल्याणकारी देवता हुन् । शिवका धेरै नाम छन् । एउटै देवताको धेरै नाम किन हुन्छ ? मानिसहरूका मनमा यस्तो जिज्ञासा हुन्छ । नाम बोलाउने मात्र विषयका रूपमा बुझ्दैआएका लौकिक मानिसका लागि एउटै व्यक्तिको धेरै नाम हुनु अनौठो पनि हो । तर, देवताहरू नामका कारणले चिनिदैनन्, उनीहरू व्यक्ति होइनन्, व्यक्तित्व हुन्, उनीहरूका सबै नामहरूहरू खास घटना प्रसङ्ग र उनीहरूका पौरखसँग जोडिएका हुन्छन् । हाम्रो नेपाली समाजमा शिवलाई महादेव, शङ्कर त भनिन्छ नै, खासगरी ‘पशुपति’का रूपमा मानेर पूज्दैआएको यथार्थ छ ।

शिव कसरी पशुपति भए ? शिव र पशुपति कसरी एउटै हुन् ? धेरैका मनमा यस्ता प्रश्नहरू हुन सक्दछन् । धेरै मानिसहरूलाई शिवका धेरै नाम र रूपका विषयमा जानकारी नहुन पनि सक्दछ । शिव सहस्रनामबारे धेरैलाई थाहा होला । यस हिसाबले शिवका हजार नाम भए । शिवसहस्रनाममा ‘पशुपति’को नाम शिवकै नामको रूपमा उल्लेख गरिएको छः ।
दम्भो ह्यदम्भो वैदम्भो वश्यो वशकरः कलिः ।
लोककर्ता पशुपतिर्महाकर्ता ह्यनौषधः ।।

विश्वप्रसिद्ध कोषग्रन्थ ‘अमरकोष’मा शिवका ४८ नाम भनिएको छ । यिनै नामहरूमध्ये एउटा नाम ‘पशुपति’ हो । सामान्यतया सबै मानिसलाई यी र यति धेरै नाम छन् भन्ने थाहा हुँदैन । कति नाम छन् भन्ने विषय त्यति महत्वको नहुन सक्दछ, तर शिवका यी नामहरू उनका ‘गुण—विशेषता’ हुन् । हरेक नाममा उनका काम, उनका विशेषता, कुनै खास अर्थ र क्षमताको अर्थ प्रकट हुन्छ ।

जानिराखौँ शिवका ती ४८ नाम यस प्रकार छन्
शम्भुरीशः पशुपतिः शिवः शूली महेश्वरः ।
ईश्वर शर्व ईशानः शङ्करश्चन्द्रशेखरः ।
भूतेशः खण्डपरशुर्गिरीशो गिरिशो मृडः ।
मृत्युञ्जयः कृत्तिवासाः पिनाकी प्रमथाधीपः ।
उग्रः कपर्दी श्रीकण्ठः शितिकण्ठः कपालभृत् ।
वामदेवो महादेवो विरूपाक्षस्त्रिलोचनः ।
कृशानुरेताः सर्वज्ञो धूर्जटिर्नीललोहितः ।
हरः स्मरहरो भर्गस्त्र्यम्बकस्त्रिपुरान्तकः ।
गङ्गाधरोकन्धकरिपुः क्रतुध्वंसी वृषध्वजः ।
व्योमकेशो भवो भीमः स्थाणू रुद्र उमापति ।
(अर्थात् १. शम्भु २. ईश ३. पशुपति ४. शिव ५. शूली ६. महेश्वर ७. ईश्वर ८. शर्व ९. ईशानः १०. शङ्कर ११. चन्द्रशेखर १२. भूतेश १३. खण्डपरशु १४. गिरीश १५. गिरिश १६. मृड १७. मृत्युञ्जय १८. कृत्तिवासा १९. पिनाकी २०. प्रमथाधीप २१. उग्र २२. कपर्दी २३. श्रीकण्ठः २४. शितिकण्ठ २५. कपालभृत् २६. वामदेवो २७. महादेवो २८. विरूपाक्ष २९. त्रिलोचनः ३०. कृशानुरेत ३१. सर्वज्ञ ३२. धूर्जटि ३३. नीललोहित ३४. हर ३५. स्मरहरो ३६. भर्ग ३७. त्र्यम्बक ३८. त्रिपुरान्तक ३९. गङ्गाधर ४०. अन्धकरिपु ४१. क्रतुध्वंसी ४२. वृषध्वज ४३. व्योमकेश ४४. भवो ४५. भीम ४६. स्थाणू ४७. रुद्र ४८. उमापति यी शिवका ४८ नाम हुन् ।) यी सबै नाम शिवका गुण, विशेषता र सामथ्र्य हुन् । यी सामथ्र्य र यी नामको प्रसङ्ग खोज्नु र जनसमक्ष ल्याउनु आवश्यक छ ।

विशेषतः शैवमार्गी र आमरूपमा हिन्दु सनातनीहरूले शिवरात्रिलाई ‘महाशिवरात्रि’ भनेर शिवको आराधना गरी मनाउने प्रचलन रहेको छ । देशका शिव मन्दिरहरूमा यस दिनलाई महापर्वको रूपमा मनाइने गरिन्छ । शिवलाई देवहरूका पनि देव मानेर देवाधिदेव, महादेवका रूपमा सम्मान गरिन्छ । हाम्रो देशमा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रि पर्व अत्यन्त श्रद्धापूर्वक मनाउने गरिन्छ । यहाँ एकै दिनमा लाखौँ श्रद्धालुहरू विभिन्न ढंगले सहभागी भई पशुपतिनाथको दर्शन गर्दछन् । मेला, पर्वहरू, उत्सवहरू बाहिरी रूप पक्ष हुन् । हामीले यी रूप वा आवरणसँग जोडिएको सारतर्फ पनि ध्यान दिन आवश्यक हुन्छ । को हुन् त शिव ? के हुन् पशुपति ? यी विषयलाई विशेष महत्व दिन आवश्यक छ । पशुपतिलाई पशुपतिनाथ पनि भनिन्छ ।
नेपालमा केही समय अघिसम्म पशुपतिनाथलाई राष्ट्रदेव पनि भनिन्थ्यो । राजनीतिक व्यवस्था परिवर्तन भई राजतन्त्रको अन्त्य तथा ‘धर्मनिरपेक्षता’सँगै पशुपतिनाथलाई राष्ट्रदेव मान्ने विषय पनि छुट्यो र धार्मिक सन्दर्भमा नजानिदो गरी राजनीतिक प्रभाव पर्यो । तर जेसुकै भनिएको भए पनि संसारका हिन्दूहरू मात्र नभई सम्पूर्ण ॐकार परिवारका मानिसहरू महाशिवरात्रि पर्व र अन्य दिनमा समेत अत्यन्त श्रद्धाभक्तिपूर्वक पशुपतिनाथको आजा—पूजा तथा दर्शन गर्दछन् ।
शिवलाई नीलकण्ठ भनिएको छ । शिवको कण्ठ किन नीलो भयो ? देवासुर संग्रामका क्रममा निस्केको कालकूट नामको विष पिएर त्यसलाई कण्ठमा राखेको हुनाले उनको कण्ठ नीलो भयो भन्ने वर्णन पुराणहरूमा पढ्न पाइन्छ । यसको तात्पर्य हो, सामूहिक लोककल्याणकारी कामको क्रममा आइपर्ने जस्तोसुकै कठिनाइ वहन गर्ने महानता शिवमा थियो । यसबाट हामीले के शिक्षा पाउँछौँ र जीवनमा लागू गर्दछौँ भन्ने विषय सारभूत विषय हो । यो एउटा उदाहरण मात्र हो । शिवका सबै नामका गूढार्थ छन्, यी सबै मानिसका लागि जान्न—बुझ्न योग्य छन्, मननीय छन् । पशुपति प्रतिका धार्मिक निष्ठा आ—आफ्ना छन् । यिनको पूजा गर्नेहरूमध्ये नियमित रूपमा गर्ने, नैमित्तिक वा पितृउद्धार आदि विशेष कारणले गर्ने र काम्य वा मनमा विशिष्ट फल प्राप्तिको कामना राखेर गर्ने गरी तीनै भावका श्रद्धालुहरू रहेका छन् ।
बद्धोकहं विविधैः पाशैः संसारभवबन्धनैः ।
पतितं मोहजालं मां त्वं समुद्धर शंकर ।।
अर्थात् हे शंकर ! म संसारसागरका विविध पाशहरूद्वारा बाँधिएको छु । यसरी मोहपाशमा बाँधिएको मलाई तपाईले उद्धार गर्नुहोस् । यसबाट पशुपतिको अर्थ स्पष्ट हुन्छ । विद्वान्हरूबाट ‘पशुपति’ शब्दको व्युत्पत्ति यसरी पनि गरिएको पाइन्छः
पशूनां—पाशबद्धानां जीवानां पतनात्, पाति— रक्षतीति = पशुपतिः । पशूनां—पाशबद्धानां जीवानां (बन्धनमा बाँधिएका जीवहरूलाई) पतनात् (पतन हुनबाट) पाति (रक्षा गर्दछ जसले) पशुपतिः(ती पशुपति हुन्) । यसरी म पाश अर्थात् बन्धनमा बाँधिएको छु, म बन्धनबाट मुक्त हुन पाउँ भन्ने अभिलाषा राख्ने सचेत प्राणी त मानिस नै हो । मानिस लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष आदिको बन्धनले जकडिएको छ । मानिसले बुझेको छ, यी सबै बन्धनहरूले क्षणिक भौतिक सफलता दिइरहेको भए पनि मानसिक शान्ति र आनन्द दिन सक्दैन ।

मात्रामा तलमाथि होला, तर सबै मानिसहरू यस्ता बन्धनमा बाँधिएका छौँ । त्यसैले यहाँ पशुपतिनाथको मन्दिरमा आएर आफ्ना बन्धनहरूबाट मुक्तिको भावना वा कामना राखेर, मानसिक शान्ति र आनन्दको भाव विकास गर्न खोज्दछन् । आफूहरू पतन हुनबाट जोगिने आध्यात्मिक उपायको खोजी गर्दछन् । संसारले जतिजति भौतिक प्रगति गरेको छ, यो मानवजीवनको सहजता र सुविधाको लागि साह्रै महत्वपूर्ण छ, आविष्कार र आविष्कारकहरू महान् छन्, तर यी सब विषयको भोगको लालसाले मानिसलाई कस्तो बनाएको छ ? कति लुछाचुँडीमा संलग्न गराएको छ ? यसको प्राप्तिको लागि मानिसले आफूलाई कसरी अघि बढाएको छ ? यही पाशले बाँधेर मानिसलाई मानवीयताभन्दा तलतल झार्दैछ । जीवनका मानवीय पक्ष इमान, जमान, सद्भाव, समभाव आदिबाट मानिस गिर्दो छ । हामीले ‘पशुपति’को यो आसय ‘पशूनां—पाशबद्धानां जीवानां पतनात्, पाति— रक्षतीति = पशुपतिः बन्धनमा बाँधिएका जीवहरूलाई पतन हुनबाट जोगाउने’ अर्थमा यसलाई जागृत गर्नुपर्छ ।

भनिन्छ, हरेक महिनाको कृष्ण चतुर्दशी ‘शिवरात्री’ हुन्छ, तर फागुन कृष्ण चतुर्दशीको रात्रि ‘महाशिवरात्रि’ हुन्छ । महाशिवरात्रिलाई शिव प्रकट भएको रात्रि भनेर मानिन्छ । शिवपुराणमा यससम्बन्धी उल्लेख गरिएको छ । यसै रात्रिमा देवी पार्वती र शिवको विवाह भएको पनि मानिन्छ । अध्यात्ममा यस्ता अनेकौँ विषय त छँदैछन्, लौकिक रूपमा पनि शिवको प्राकट्य र दाम्पत्य जीवनसँग जोडिएको यो दिन , रात्रि साह्रै महत्वपूर्ण छ । यसले देव, महादेव, देवी, महादेवी पनि जीवन लीलामा रहेको स्पष्ट हुन्छ । यस्ता अवसरहरूले जीवनलाई उल्लासमय बनाइरहन, काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष आदि बन्धनहरू र तिनीहरूका कारण हुन सक्ने पतनबाट जोगिने संकल्पका लागि शिवरात्रि र पशुपतिको महत्व छ । मानिस अनेकौँ पाशहरू र तिनको बन्धनमा बाँधिएको छ । पशुपति नामले पाशबद्धताबाट मुक्ति भन्ने जनाउँछ ।

शब्द, शब्दको अर्थ र मर्म बुझेर गरिने व्यवहार सार्थक हुन्छ । त्यसो नगरी लहैलहैमा लागेर गरिने कर्म फगत अन्धविश्वास मात्र हुन्छ । पाशुपत दर्शन यस्तो दर्शन हो, जहाँ जात, धर्म, वर्ण, लिङ्गमा आधारित भेद नहुने दृष्टिकोण प्रतिपादन छ । हाम्रो नेपालमा नै पशुपतिनाथको मन्दिर हुनु हामी सबैका लागि गौरवको विषय हो । अनेकौँ विभेद तथा पाशयुक्त जीवनबाट मुक्त भई जीवनलाई सहज बनाउन पाशुपतदर्शन अध्ययन तथा अनुपालन गर्न आवश्यक छ । थोरै पनि मनन् गर्ने हो भने पशुपतिनाथको रूप दर्शनबाट सारतर्फको यात्राका लागि महाशिवरात्रिपर्व सबैका लागि कल्याणकारी हुन सक्दछ ।
तन्मे मनः शिवसङ्कल्पमस्तु !

                              —घनश्याम कोइराला (सनातन संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)

😀
0
😍
0
😢
0
😡
0
👍
1
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.