लायन्स क्लब अफ बुटवल सिद्धबाबाले वनवाटिका क्षेत्रअन्तर्गत स्मृति पार्कमा निर्माण गरिएको प्रवेशद्वारको भव्य उद्घाटन गरेको छ। करिब २ लाख ९८ हजार ७७२ रुपैयाँ लागतमा बनेको प्रवेशद्वारलाई विशेष समारोहबीच सार्वजनिक गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि नेपालका डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ बलराम भट्टराईले प्रवेशद्वारको उद्घाटन गर्दै सिद्धबाबा क्लबले २०२५ र २०२६ मा पुर्याएको सामाजिक योगदानको उच्च प्रशंसा गरे। उनले क्लब अध्यक्ष भूमिप्रसाद सापकोटालाई धन्यवाद ज्ञापन गर्दै स्मृति पार्क प्रवेशद्वारलाई क्लबको विशेष उपलब्धि भएको उल्लेख गरे।
सो अवसरमा विशिष्ट अतिथि वनवाटिका अध्यक्ष खेमलाल पाण्डेले लायन्स क्लबले सार्वजनिक हितका लागि गरेको योगदान सराहनीय रहेको बताए। उनले पार्कमा भौतिक पूर्वाधार निर्माणले पर्यटक आकर्षणमा मद्दत गर्ने उल्लेख गर्दै, पार्कभित्र रहेको करिब साढे दुई कट्टा क्षेत्रफललाई ‘लायन्स पार्क’ निर्माणका लागि उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए।
क्लब अध्यक्ष भूमिप्रसाद सापकोटाले प्रवेशद्वार निर्माणमा एकल लगानी गरेका लायन्स अश्मिन भट्टराईप्रति विशेष आभार व्यक्त गरे। साथै उनले क्लबले आगामी दिनमा पनि सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासका कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा डिस्ट्रिक्ट सेक्रेटरी लायन्स एम.एल. पाण्डे, ट्रेजर संगम न्यौपानेलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन क्लब सचिव लायन्स पीएमजेएफ तुल्सीराम न्यौपानेले गरेका थिए।






